१३ आश्विन २०८१, आइतबार

बाराको सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग


बाराको सिमरनगढ

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा मैनालीले भने, “बाराको सिम्रौनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, विसं १३८१ मा राजा हरिसिंह देवलाई दिल्लीका बादशाह गयासुद्धिन तुग्लकले आक्रमण गरेपछि साम्राज्य ध्वस्त हुन पुग्यो । अहिले विगत छ वर्षको अन्तरालमा पोखरी खन्ने क्रममा श्रीकृष्ण र स्वामिनारायणको मन्दिर, एक हजारवर्षभन्दा पुराना पुरातात्विक संरचना फेला परेको छ । त्यसैले संरक्षित क्षेत्र घोषणा गरियोस् ।”

सांसद अञ्जनी श्रेष्ठले चितवनको राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने मानिसलाई वन्यजन्तुले आक्रमण गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद अनिता देवीले अनागरिकलाई जतिसक्दो चाँडो नागरिकताको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

सांसद अनिसा नेपालीले दूध तथा दुग्धजन्य पदार्थलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गरिन् । सांसद अब्दुल खानले संविधानमा भएको मौलिक हकको कानुन नबन्दा महिला, दलित, मधेसीलगायत उत्पीडित समुदाय मारमा पर्ने गरेको भन्दै मौलिक हकको कानुन बनाएर लागू गर्नुपर्नेमा जोड दिए ।

सांसद अमरबहादुर थापाले सुर्खेत हुँदै दैलेख जाने बाटोलाई थप फराकिलो बनाउँदै व्यवस्थित गर्नुपर्ने बताए । सांसद अमरेशकुमार सिंहले विगत केही दिनदेखि नागरिकता नपाएको जन्मसिद्धको छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका धर्नाकर्मीप्रति सरकारले दमन गरेको भन्दै विरोध जनाए ।

सांसद अमृतलाल राजवंशीले चिया बगानका श्रमिकलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग गरे । सांसद अर्जुन नरसिंह केसीले गुठी र विर्ता जग्गाको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।

सांसद अशोककुमार चौधरीले कृषि क्षेत्रमा कृषकले भोग्दै आएको मल, बीउ, लगायतका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराए । सांसद आश्माकुमारी चौधरीले नेपालको कषि क्षेत्रलाई आधुनिकिकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिए । उनले भने, “जतापनि भ्रष्टाचार नै भ्रष्टाचार छ, किसानले समयमा मल र बीउ पाउन सकेका छैनन्, सरकारले पनि त्यसतर्फ चासो दखाएको छैन ।”

सांसद ईश्वरबहादुर सिजालले दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–१ बेदिङमा टेलिकमको टावर स्थापनाको माग गरे । सांसद ईश्वरी घर्तीले रोल्पा जिल्लाका धार्मिकस्थललाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग गरे । सांसद ईश्वरीदेवी न्यौपाने, सांसद अरुणकुमार चौधरी, अमृतादेवी अग्रहरी, अमरबहादुर रायमाझीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !