५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्न खोजियो : मन्त्री श्रेष्ठ


गंगानारायण श्रेष्ठ

हेटौडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिक्रान्तिकारी शक्तिहरुले अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्ने खतरा बढ्को बताएका छन् ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले माओवादीहरुले लडेर ल्याएको उपलब्धी रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गइरहेको बताएका छन् । उनले उपलब्धिहरुको रक्षा गर्न नसक्नुको परिणामस्वरुप् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको बताएका हुन् ।

प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर प्रतिक्रान्तिकारी शक्तिहरुले अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्ने खतरा बढेको उनको भनाई छ । मन्त्री श्रेष्ठले क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडी बढ्नुको विकल्प नभएको बताए ।

उनले प्रतिक्रान्तिकारी षड्यन्त्र निस्तेज पार्न एकताबद्ध हुनुको विकल्प नभएको बताए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने – ‘क्रान्ति निकै निर्मम हुन्छ । क्रान्तिको केन्द्रीय प्रश्न राज्यसत्ता हो । क्रान्तिमा हारेका वर्ग र शक्तिले जहिल्यैपनि प्रतिक्रान्तिको लागि अन्तिम प्रयास गरिरहन्छ । गुमेको आफ्नो सत्ता स्वर्ग फिर्ता गर्न नाभिदेखिको बल लगाइरहन्छ । यो उनीहरुको धर्म नै हो । मुख्य कुरा बास्तवमा त्यो होइन । मुख्यकुरा क्रान्तिकारी शक्तिहरुले क्रान्तिको बलमा प्राप्त गरेको सत्ता, शक्ति, उपलब्धि रक्षा गर्दै संस्थागत गर्न सधैँ सचेत रहनुपर्दछ । हाम्रो देशको सन्दर्भमा क्रान्तिकारी शक्तिहरु आफैले लडेर ल्याएको उपलब्धी रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गएका छन् । यसैको परिणाम हो यि मुद्दाहरु । क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडी बढ्नुको विकल्प छैन । प्रतिक्रान्तिकारी शक्तिले अदालतलाई प्रतिक्रान्तिको औजारको रुपमा प्रयोग गर्न सक्ने खतरा बढ्दै गइरहेको छ । तसर्थ सबै क्रान्तिकारी शक्तिहरु समयमै एकजुट भएर प्रतिक्रान्तिकारी षड्यन्त्र निस्तेज गर्न एकताबद्ध हौँ । दिप निभ्न अघि नै दियोमा तेल थपौँ । दिप निभेपछि अन्धकारमा आँशु बगाएर प्रायश्चित गर्नुको कुनै अर्थ छैन ।’

उनले माओवादी धारका पार्टीहरुका बिचमा एकता आवश्यक रहेको बताए । गणतन्त्र लगायतका राजनीतिक परिवर्तनको रक्षा गर्न र सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्न एकता आवश्यक रहेको उनको भनाई छ । उनले भने – ‘एकता किन आवश्यक छ भने हामीले रगतसँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको निम्ति, नेपाली जनताहरुले लडेर प्राप्त गरेको उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि प्राप्त गर्नको निम्ति एकता आवश्यक छ । दोस्रो कुरा प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर सामाजिक, आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्नका लागि पनि एकता आवश्यक छ ।’

मन्त्री श्रेष्ठले यथास्थितिमा माओवादी धारका दलहरुका बिचमा एकता सम्भव नभएको स्पष्ट पारे । एकताका लागि सबै रुपान्तरण हुनुपर्ने उनले बताए । मेरो गोरुको बाह्रैटक्का भनेर आ–आफ्नै डम्फु बजाएर बसे जनयुद्ध लडेका नेताहरुको अवसान हुने उनको तर्क छ । उनले भने – ‘यथास्थितिमा एकता सम्भव छैन । नयाँ आधारमा नयाँ एकताका लागि सबैमा रुपान्तरण आवश्यक छ । रुपान्तरणसहितको एकताको कुनै विकल्प छैन । मेरो गोरुको बाह्रैटक्का भनेर आ–आफ्नै डम्फु बजाइ बस्ने हो भने जनयुद्ध लडेका नेताहरुको अर्थात् जनयुद्धको नै अवसान असम्भ्यावी छ । तसर्थ हाम्रो अगाडी दुई मात्र विकल्प छन् । कि सच्चिने, कि सक्किने । तसर्थ सच्चिनुको विकल्प छैन । मेरो आग्रह छ, सबै सच्चिऔँ । नयाँ आधारमा रुपान्तरणसहितको नयाँ एकता कायम गरेर नयाँ नेपालको नेतृत्व गरौँ ।’

नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले माओवादी केन्द्रलाई एकताकालागि लिखित रुपमा आधार प्रस्तावहरु दिएको जानकारी दिए । उनले माओवादी पार्टीबाट औपचारिक रुपमा कुनै जवाफ नआएको र पार्टीको केन्द्रीय समितिको बैठक बसेर आफुहरुले पठाएको प्रस्तावमाथि छलफल गरी औपचारिक रुपमा जवाफ लेख्ने जानकारी पाएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !