२० जेष्ठ २०८१, आइतबार

समामुख घिमिरे र दक्षिण कोरियाका नवनियुक्त राजदूतबीच भेटघाट


देवराज घिमिरे र पार्क तइयोङ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन् ।

आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवलाई विशेष महत्त्वका साथ जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले दक्षिण कोरियामा ८५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको भन्दै कोरियाले नेपालको आर्थिक विकासमा पुर्याएको सहयोग उल्लेखनीय रहेको बताए । उनले कोरियाली कम्पनी सामसुङले नेपालमा कारखाना सुरु गरेकोमा धन्यवाद दिँदै नेपालमा थप लगानी गर्न आग्रहसमेत गरे ।

बौद्ध जन्मस्थल लुम्बिनीमा कोरियाबाट उल्लेख्य पर्यटक आइरहेको भन्दै उनले आगामी दिनमा पर्यटन आवागमन वृद्धि हुने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले राजदूत तइयोङलाई सिधा हजाई उडानतर्फ समेत ध्यानार्कषण गराए । “नेपाल–कोरिया सिधा हवाई उडानका लागि कोरिया सरकारले तदारुकता देखाउने विश्वास गरेका छौँ”, उनले भने ।

राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू ‘शिष्ट, मेहनती र अनुशासित’ रहेको टिप्पणीसमेत गरे । उनले नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताए ।

कोरियाको संसद्मा कोरिया नेपालमैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको सङ्घीय संसद्ले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे ।

कोरियाबाट फर्केका नेपालीले नेपालमा कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी गरेको बताउँदै उनले घर र गाडी किनेर खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा जोड दिए । नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उनले जलविद्युत्लगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !