१४ बैशाख २०८१, शुक्रबार

पशुपतिनाथमा सुन भनेर पित्तलको जलरी हालेको ओलीमाथि आरोप लगाएपछि एमालेद्वारा संसद अवरोध


एमालेद्वारा संसद अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद अवरोध गरेको छ । तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलरी हालेको आरोप लगाएपछि एमाले संसद अवरोध गरेको हो ।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल ‘राजन’ ले पशुपतिमा ओली प्रधानमन्त्री हुँदा चढाइएको जलहरी सुन भनेर पित्तल चढाएको आरोप लगाएको भन्दै एमालेले संसद् अवरोध गरेको हो ।

अघिल्लो संसद बैठकमा माओवादी सांसद दाहालले लगाएको आरोपमा एमालेले आज बैठक अवरोध गरेको हो । सांसद दाहालले नीति तथा कार्यक्रमका विषयमा बोल्ने क्रममा पशुपतिको जलहरीमै भ्रष्टाचार भएको आरोप लगाएका थिए ।

एमालेका सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए ।

एमालेका प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताए । पशुपतिनाथको जलहरी सुन हो कि पित्तल हो भनी छानबिन गरी सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने बतार ।

यसैगरी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सदन अवरुद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाइएको मिथ्या आरोप गम्भीर भएको बताए । सत्तापक्षका सांसदले आफूहरुलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गरे । सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुनेगरी छानविन गर्न उनले माग गरे ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक–पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । सभामुखको आग्रह गरे पनि एमाले सांसदहरुले रोष्टम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए ।

एमाले सांसदहरूले नाराबाजीसहित रोस्ट्रम घेराउ गर्दै करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उनले २० मिनेटका लागि बैठक स्थगित भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !