२२ भाद्र २०८१, शनिबार

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल भोलि पनि जारी रहने


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रियसभामा नीति तथा कार्यक्रम माथिको छलफल भोलि पनि जारी रहने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै यही जेठ ५ गते प्रस्तुत गरिएको नेपाल सरकारको आ.ब.२०८०/८१ को नीति तथा कार्यक्रम माथि बोल्नेक्रम नसकिएकाले छलफल भोलिको बैठकमा पनि जारी रहने भएको हो ।

नीति तथा कार्यक्रम माथिको आजको छलफलमा भाग लिंदै नेपाली काँग्रेसकी सांसद कमला पन्तले नीति तथा कार्यक्रममा धेरै कुरा सकारात्मक भए पनि यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने भएकाले आउने बजेट कसरी आउछ भन्ने कुरा हेर्न जरुरी रहेको औंल्याएकी थिइन् ।

नीति तथा कार्यक्रमले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न प्रतिबद्धता व्यक्त गरेको प्रति खुशी व्यक्त गर्दै सांसद पन्तले हरित अर्थतन्त्रको कुरा पनि कार्यक्रममा परेको भनी स्वागत गरेकी थिइन् ।

गरिब र धनी बीचको खाडल अन्त्य गर्दै समावेशी विकासको लक्ष्य लिनु पर्ने बताउँदै सांसद पन्तले विदेशमा रहेका नेपालीहरुको मताधिकारको व्यवस्था गर्ने कुरा समेत नीति तथा कार्यक्रममा परेकोमा खुशी व्यक्त गरेकी थिइन । उनले यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी थिइन् ।

सहकारीलाई प्रभावकारी अनुगमन गरी व्यवस्थित गर्नुपर्नेमा जोड दिंदै उनले नीति तथा कार्यक्रमल स्वदेशी बस्तुको खरिदमा जोड दिनु राम्रो पक्ष भएकाले अब स्वास्थ्य बीमा कार्यक्रमलाई पनि व्यवस्थित गर्दै जाने कुरा गर्नु पर्ने बताइन् ।

उनले राज्यको ठूलो लगानी भइसकेको सामुदायिक विद्यालयहरुलाई पनि अब स्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा विकास गर्दै लैजानु पर्नेमा जोड दिएकी थिइन् ।

नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै नेकपा(एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रमको समर्थन जनाएकी थिइन् । उनले नीति तथा कार्यक्रम राम्रो भएकाले यसैको आधारमा नयाँ बजेट आउनु पर्ने बताउँदै राष्ट्रिय सहकारी नीतिलाई परिमार्जन गर्ने कुरा पनि आएकाले यो राम्रो पक्ष भएको जिकिर गरिन् ।

महत्वपूर्ण शिक्षा एने र कर्मचारी ऐन ल्याउने कुरा राम्रो भएको बताउँदै सांसद राईले कृषकलाई पेन्सन र बन्द भएका उद्योग संचालन गर्ने कुरा पनि कार्यक्रममा पर्नु राम्रो कुरा भएको बताएकी थिइन् ।

छलफलमा नेकपा(एमाले)का सांसद कुमार दसौदीले नीति तथा कार्यक्रममा बहुउपयोगी गाँजाको वैधानिक खेती गर्ने कुरा नीति तथा कार्यक्रममा नआएको प्रति दुःख व्यक्त गरेका थिए ।

निर्माण गरिएको कृषि शित भण्डारहरु समेत अहिले प्रयोग बिहीन भइरहेको अवस्थामा नीति तथा कार्यक्रमले प्रत्येक पालिकामा एउटा–एउटा शितभण्डार बनाउने कुरा गर्नु ठिक नभएको तर्क राख्दै सांसद दसौदीले तराईका साना किसानलाई प्रदान गर्ने भनिएको ट्युववेल कार्यक्रम पनि कार्यान्वयन हुन नसक्ने दावी गरेका थिए ।

छलफलमा जसपाका सांसद मोहम्मद खालिदले नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको भन्दै समर्थन जनाएका थिए । उनले संविधानको मर्म र भावना अनुसार पछाडि पारिएका समुदायलाई मूलधारमा ल्याउने कुरामा अलि सन्तुलित हुन नसकेको बताउँदै दलित र मश्लिम समुदाय प्रति ध्यान नदिइएको जिकिर गरे ।

मदरशा शिक्षा बोर्ड गठन गर्ने बिषयमा सरकार गम्भिर बन्न नसकेको बताउँदै उनले गुरुकूल, धार्मिक तथा प्राकृतिक शैक्षिक संस्थाहरुको विकास र विस्तारमा समेत जोड दिंदै जानुपर्ने बताएका थिए ।

मनोनित सांसद बामदेव गौतमले नीति तथा कार्यक्रम औचित्यपूर्ण र देश विकासको लागि आएको भन्दै समर्थन जनाएका थिए । नीति तथा कार्यक्रमको लक्ष्य र दिशा एक बर्षको लागि मात्र हुन नसक्ने दावी गर्दै सांसद गौतमले प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई खारेज गरेर अर्को ल्याउने कुरा संविधानसम्मत हुने नसक्ने दाबी गरे ।

नीति तथा कार्यक्रमले कृषि उत्पादनको क्षेत्रलाई बढि जोड दिनुपर्ने धारणा राख्दै सांसद गौतमले कृषि क्षेत्रको विकास बिना नेपालको आर्थिक विकास सम्भव नभएको बताएका थिए । छलफलमा नेकपा(माओवादी केन्द्र)का सांसद हरिराम चौधरीले नीति तथा कार्यक्रम राम्रो भएकाले अब यसको कार्यान्वयनको पाटोमा ध्यान दिनुपर्ने बताएका थिए ।

नीति तथा कार्यक्रमले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने बिषयलाई प्राथमिकतामा राखेको दावी गर्दै सांसद चौधरीले रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्र धानेको भए तापनि राज्यले सहजरुपमा राहदानी, राष्ट्रिय परिचय पत्र र एनओसी लेटर दिन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको राजश्वले ती प्रदेशहरु संचालनमा अहिले कठिनाई भइरहेकाले संघीय सरकारलाई ती प्रदेशहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको सांसद चौधरीको भनाई थियो ।

नीति तथा कार्यक्रम माथिको आजको छलफलमा सांसदहरु नरबहादुर बिष्ट, दिलकुमारी रावल थापा पार्वती, दुर्गा गुरुङ, गोमादेवी तिमिल्सिना, बिना पोखरेल, सुमित्रा बिसी, भगवती न्यौपाने, कृष्णप्रसाद पौडेल, तारामान स्वाँर, ईन्दिरादेवी गौतम र जगतबहादुर पार्कीले भाग लिंदै आ–आफ्नो धारणा राखेका थिए । राष्ट्रिय सभाको अर्को बैठक भोलि जेठ ९ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु