८ बैशाख २०८१, शनिबार

प्रहरीले बुझायो नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौँ । प्रहरीले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।

प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको हो । हिजोमात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको थियो । संलग्नको आरोप लागेका केही भने फरार छन् । परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिएको बताए ।

यस घटनामा एक सय छजना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ । प्रहरी स्रोतका अनुसार ठगी र सङ्गठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जानसक्ने बताइएको छ ।

उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यत्ति फरार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !