२३ भाद्र २०८१, आइतबार

म राणाको छोरी रे ! राणाले त सहिदलाई गोली पो ठोके थिए, होइन र ? : उमेशलाल श्रेष्ठ


उमेशलाल श्रेष्ठ र डा. आरजु राणा देउवा

काठमाडौँ । उद्योगी व्यवसायी एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव स्व. पुष्पलाल श्रेष्ठ र स्व. साहना प्रधानका सुपुत्र उमेशलाल श्रेष्ठले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी सांसद डा. आरजु राणा देउवालाई आज बिहानै तीखो व्यंग प्रहार गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै श्रेष्ठले म राणाको छोरी रे ! राणाले त सहिदलाई गोली पो ठोके थिए, होइन र ? भनेर प्रश्न समेत गरेका छन् । गत वैशाख ३१ गते आइतबार योहो टेलिभिजनमा प्रस्तोता जीवराम भण्डारीसँग कुराकानी गर्दै राणाले ‘म राणाको छोरी हुँ बन्दुक मेरो दाइजो मै आएको हो !’ भनेर अभिव्यक्ति दिएकी थिइन् ।

राणाले यस्तो अभिव्यक्ति दिएलगत्तै सामाजिक संजालमा उनको चर्को आलोचना सुरु भएको थियो भने राजनीतिक विश्लेषकले उनको भनाईप्रति आपत्ति प्रकट समेत गरेका छन् । राजनीतिक रुपमा उनी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

श्रेष्ठको परिवारले पनि विगतमा राणाविरोधी अभियान चलाएको थियो । उनका बुवा पुष्पलालका जेठा दाजु गंगालाल श्रेष्ठ नेपालका शहीद हुन्, जसले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए ।

नेपालमा राणा शाशनका विरुद्ध क्रान्तिलाई नेतृत्व गर्नका लागि पहिलो पटक बनाइएको संगठन नेपाल प्रजा परिषद्को गतिविधिमा लागेबापत १९९७ साल कात्तिक २ गते गंगालाललाई पक्राउ गरिएको थियो । राणा शाशकले उनलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

आफ्ना दाजु शहीद गङ्गालाललाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्” भनेको यही शब्दले नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेर नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता बनेका थिए ।

राणाविरोधी अभियानमा लागेकै कारण गंगालाल र पुष्पलालका बाबु भक्तलालको खरिदारको जागिर खोसिएको थियो । राणाले दिएको अन्तर्वार्ताको एक सातापछि मुख खोल्दै श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘म राणा को छोरि रे । राणा ले त सहिद लाई गोलि पो ठोके थिए। होइन र ?’

उमेशलाल श्रेष्ठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !