७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति पौडेल संसद भवन जाँदा सडक अवरुद्ध नगरिने


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ वानेश्वरस्थित संघीय संसद भवन जाँदा सडक अवरुद्ध नगरिने भएको छ । राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे संसद भवनमा प्रस्तुत गर्दैछन् ।

संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रमको सम्बोधनका लागि राष्ट्रपति पौडेल जाँदा र फर्किँदा सर्वसाधारणको आवागमनमा रोक पनि नलगाइने भएको हो ।

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा नागरिकलाई सास्ती हुने भएकाले कुनै तामझाम नगर्न निर्देशन दिएपछि सर्वसाधारणलाई नरोकिने र सडक अवरुद्ध पनि नगरिने भएको हो ।

यसअघिका राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरेको थियो । तर यसपटक भने राष्ट्रपति पौडेल संसद् भवन जाँदा सडक अवरुद्ध नगरिने भएको हो ।

राष्ट्रपति पौडेल संसद जाँदा सर्वसाधारणले सास्ती नपाउन भएर यस्तो गरिएको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ । शीतलनिवासले पनि राष्ट्रपतिको सवारी गत चैत ७ गते घोडेजात्राका क्रममा भएको जस्तै हुने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !