१२ असार २०८१, बुधबार

पूर्वगृहमन्त्री खाँणलाई दरबारमार्ग वृत्तको हिरासतमा राखिने


बालकृष्ण खाण

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिने भएको छ । आज मात्र काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

आज बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको एकल इजलासले खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । खाणलाई आज बिहान काठमाडौंको चावहिलको मैजुबहालस्थित निजी निवासबाट पक्राउ गरिएको थियो ।

खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएको छ । केसीलाई भने जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएको छ ।

यसअघि हिजो मङ्गलबार काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई भने चार दिन म्याद थप गरेर काठमाडौं परिसरकै हिरासतमा राखिएको छ ।

प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ । सचिव पाण्डेलाई हाल निलम्बन गरिएको छ ।

उक्त घटनामा मुछिएका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । उनलाई एमालेले आजै सचिवबाट निलम्बन पनि गरिसकेको छ ।

उक्त घटनामा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।

यो पनि पढ्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !