६ जेष्ठ २०८१, आइतबार

संसदमा प्रधानमन्त्रीलाई एमालेको चुनौती : ‘फिल्म देखाउनुस्, हामी टिकट काटेर बसेका छौं’


पदम गिरी फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज आइतबार सुरु भएको संघीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टचारको विषयमा ‘ट्रेलर’ मात्र देखाइएको र फिल्म देखाउने भनेको भन्दै उनले एमाले टिकट काटेर फिल्म हेर्न तयार रहेको बताएका छन् ।

गिरीले आफूहरूले टिकट काटेर बसेको भन्दै ‘फिल्म’ देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । एमालेले भ्रष्टाचार सम्पूर्ण काण्डबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको हो ।

गिरीले नक्कली भुटानी शरणार्थीको विषयमा मिडियामा आएका विषयहरु नयाँ नभएको पनि बताए । उनले नक्कली भुटानी शरणार्थीको विषयमा गत भदौमा राष्ट्रियसभामा एमाले सांसद पार्वती रावलले उठाएको विषय सरकारले नसुनेको पनि बताए ।

उनले जुनसुकै प्रकारका भ्रष्टाचार विषयलाई छानबिन गरी कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डलाई छानबिन गरी कारबाही गर्न चुनौती दिए । गिरीले वाइडबडी घोटलाकाण्ड, बाँसबारीको जग्गा, बालमन्दिरको जग्गा, यती, ओम्नीलगायत लडाकु शिविरका काण्ड सबै छानबिन गर्न माग गरे । यसमा एमालेले साथ दिने पनि उनले बताए ।

एमालेका सचेतक महेश बर्तौलाले पनि नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । एमालेकै अर्का सांसद सूर्य थापाले दोषीलाई नछाड्न र निर्दोषलाई फसाउने काम नगर्न खबरदारी गरे ।

यसअघि हिजो शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्र देखाएको भन्दै बाँकी फिल्म देखाइने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !