४ असार २०८१, मंगलबार

प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्न माग गर्दै आजदेखि नेपाल बार आन्दोलनमा


नेपाल बार एसोसिएशन

काठमाडौँ । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त अविलम्ब गर्न माग गर्दै आजदेखि आन्दोलनमा उत्रिने भएको छ । सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर नेपाल बार आजदेखि आन्दोलनमा उत्रन लागेको हो ।

एशोसिएसनका महासचिव अन्जिता खनालले हिजो एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गरेकी छन् ।

“सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगी न्यायपालिकाप्रति जनआस्था खस्किँदो अवस्थामा छ”, विज्ञप्तिमा भनिएको छ, “देशभरिका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसक्दा सेवाग्राहीले संविधानद्वारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट बञ्चित हुनुपरेको छ ।”

अहिले सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् । एशोसिसनले प्रधानन्यायाधीश नियुक्ति, न्यायपालिकाको विकृति, विसङ्गतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न समेत माग गर्दै भोलि वैशाख १७ गतेबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्न थालिएको महासचिव खनालले जानकारी दिइन् ।

उनका अनुसार ती माग पूरा गर्नका लागि आजदेखि एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !