काठमाडौं । फरार रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयमा अगामी अधिवेशनमा कानून बमोजिम हुने भएको छ । आज बसेको दोस्रो बैठकमा सभामुख देवराज घिमिरले सांसद कोइरीको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराएका थिए ।
बैठकले सांसदहरु मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको मात्र बिदा स्वीकृत गरेको छ । दोस्रो बैठक प्रारम्भ हुने बित्तिकै सभामुख घिमिरेले भने,‘१. माननीय श्री मनोरमा शेरचन, माननीय श्री बिनाकुमारी थनैत, माननीय श्री चन्द्रकान्त भण्डारी र माननीय श्री वर्षमान पुनको बिदा सभाबाट स्वीकृत भएको छ । २. माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराउँदछु ।’
दोस्रो बैठकको अन्त्यमा सभामुख घिमिरेले चालू अधिवेशनभर भए गरिएका कामहरुको बारेमा संक्षिप्त विवरण पेश गर्दै राष्ट्रपति कार्यालयबाट आजै राती १२ बजेबाट अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्राप्त पत्रको व्यहोरा समेत पढेर सुनाएका थिए ।