७ मंसिर २०८१, शुक्रबार

उपनिर्वाचन : चितवन-२ मा सर्वदलीय बैठक सुरु


सर्वदलीय बैठक

चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । गएराति मतपेटीका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएतापनि भर्खरै आज बिहान मात्र सर्वदलीय बैठक बसेको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले) सहितका दलहरुले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन् । बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्रपार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताएका छन् । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !