३ जेष्ठ २०८१, बिहिबार

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिल सिन्हाको इजलासमा


रवि लामिछाने र सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै हिजो दर्ता भएको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

उक्त मुद्धा आज सर्वोच्च अदालतमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ । सिन्हाको इजलासमा ११ वटा रिटको पेशी तोकिएकोमा लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको हो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध हिजो दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । उक्त विवादमा आज मंगलबार सुनुवाइ हुने भएको हो ।

यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइसकेका छन् ।

महान्यायाधिवक्ता डा. पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय यही चैत ६ गते गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !