१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा नियमावली मस्यौदा संशोधनसहित पारित


नागरिकता विधेयक पारित फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधन सहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीको तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो ।

उक्त प्रस्तावमाथि सांसदहरु सुमना श्रेष्ठ, प्रतिमा गौतम, श्यामकुमार घिमिरे, डा.आरजु राणा देउवा, राजेन्द्रकुमार के.सी., रामहरि खतिवडा, पूर्णबहादुर घर्ती, अम्मरबहादुर थापा, रेखा यादव, सन्तोष परियार, प्रेम सुवाल, रुपा सो.शी.चौधरी, माधव सापकोटा, दामोदर शर्मा बैरागी, डा.चन्द्रकान्त राउतले संशोधन हालेका थिए ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनुअघि बैठकमा उक्त प्रतिवेदनमाथि दफाबार छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको समिति सभापति चित्रबहादुर केसीको तर्फबाट समिति सदस्य लेखकले जवाफ समेत दिएका थिए । जवाफको क्रममा समिति सदस्य लेखकले समावेश गर्न आवश्यक केही संशोधनहरुलाई मस्यौदामा स्वीकार गरिएकोे सभालाई जानकारी गराएका थिए ।

सांसदहरु सुमना श्रेष्ठ, प्रतिमा गौतम, श्यामकुमार घिमिरे र प्रेम सुवालको संशोधनलाई भने बैठकको बहुमतले अस्वीकृत गरेको थियो भने बाँकी संशोधनकर्ताहरुले भने समिति सदस्य लेखकको जवाफपछि आफ्नो संशोधनलाई फिर्ता लिएका थिए ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट मन्त्रीपरिषद् गठन सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय समावेशी आयोगको चौथो बार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९)’ पेश गरेकी थिइन् ।

बैठकको शुरुमा भने सभामुख देवराज घिमिरे आज मात्र सपथ लिएकी जसपाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीलाई बैठकमा स्वागत गरेका थिए । प्रतिनिधि सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य समयमा बोल्दै सभामुख मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक यही चैत्र २३ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !