काठमाडौँ । सत्ता गठबन्धनका दलहरुमा मन्त्रालय बाँडफाँडमा विवाद हुँदा आज मन्त्रिपरिषद् विस्तार हुन सकेन । आजै मन्त्रिपरिषद् विस्तार गरेर सपथ गराउने लक्ष्य राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को इच्छा आज पुरा नभएको हो ।
आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन बनेसँगै हेलिकप्टरमा चितवन उडेका प्रधानमन्त्री प्रचण्डले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने आफ्नो लक्ष्य रहेको बताएका थिए ।
केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद उत्पन्न भएर गठबन्धनका दलहरूले मन्त्रीको नाम सिफारिस गर्न नसकेकोले आज मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । मन्त्रालयको भागवण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।
आज बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले अव भोलि शुक्रबार मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतका अनुसार भोलि शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेर दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी गरिएको छ ।
हिजो अपरान्ह बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा सैद्धान्तिक सहमति मात्र भएको थियो । प्रचण्डले ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । गठबन्धनका दलहरूबीच कति वटा मन्त्रालय पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति भएपनि कुन-कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषयमा आज पनि सहमति हुन नसकेको हो ।
हिजो बुधबार बसेको गठबन्धन बैठकमा नेपाली कांग्रेसलाई ८, नेकपा (माओवादी केन्द्र) लाई प्रधानमन्त्रीसहित ५, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई २/२, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय दिने सैद्धान्तिक सहमति भएको थियो ।