७ बैशाख २०८१, शुक्रबार

दलहरूले मन्त्रीको नाम दिन नसकेकोले आज मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रालयको भागवण्डा टुंगो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता छ ।

सत्ता गठबन्धनका दलहरूले मन्त्रीको नाम दिन नसकेकोले आज मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून देखिएको छ । सत्ता साझेदार दलहरूले मन्त्रीका लागि नाम सिफारिस गर्न नसकेपछि आज मन्त्रिपरिषद् विस्तारको सम्भावना कम भएको हो ।

मन्त्रालयको भागवण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै छलफल जारी राखेका छन् । हिजो अपरान्ह बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा सैद्धान्तिक सहमति मात्र भएको थियो ।

प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । यद्यपि गठबन्धनका दलहरूबीच कति वटा मन्त्रालय पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति भएपनि कुन-कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषयमा आज सहमति हुने बताइएको छ ।

हिजो बुधबार बसेको गठबन्धन बैठकमा नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, जसपा र नेकपा एसलाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र अरुलाई १/१ मन्त्रालय दिने सैद्धान्तिक सहमति भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !