७ बैशाख २०८१, शुक्रबार

अर्थविद् डा. स्वर्णिम वाग्लेले छोडे नेपाली कांग्रेस


डा‍. स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थविद् डा‍. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । कांग्रेस नेताहरूलाई एक पत्र पठाएर वाग्लेले पार्टी छाडेको जानकारी गराएका हुन् । अर्थशास्त्री वाग्लेले आज बिहीबार अपरान्ह सामाजिक संजाल फेसबुकमा एउटा स्टाट्स लेख्दै नेपाली कांग्रेस छाडेको घोषणा गरेका हुन् ।

उनले संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन् । आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरेपछि वाग्ले कांग्रेसबाट अलग भएका हुन् ।

उनी तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझेर कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन् । वाग्ले तनहुँ-१ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा रहेका छन् ।

रास्वपाले सम्भवत: आजभोलि नै वाग्लेलाई तनहुँ-१ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गर्ने बुझिएको छ ।​ कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेको पत्रमा उल्लेख छ ।

कांग्रेसको नेतृत्वमा देउवा बाहेकका नेता पुगेको दिन पुनः सहकार्य हुने उनको भनाइ छ । डा. वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् ।

यस्तो छ वाग्लेले नेपाली काँग्रेसबाट अलग भएको घोषणा

वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।

अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !