काठमाडौँ । दश दलीय सत्ता गठबन्धनको बैठकमा आज मन्त्रालयको भागबण्डाको विषयमा सैद्धान्तिक सहमति मात्र भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा सैद्धान्तिक सहमति मात्र भएको हो ।
बैठकपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको दाबी गरेका छन् । अब गठबन्धन दलहरुले आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर पार्टीले आ-आफ्नो भागमा परेको मन्त्रालयको मन्त्री चयन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएपछि भोलि मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।
उनका अनुसार भोलि मन्त्रिपरिषद् विस्तार भएर बेलुका शपथ हुने भएको हो । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । रास्वपाबाहेक अन्य ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय संख्या आज टुंगो लागेको हो ।
गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा आज सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएपछि भोलि पुन: बैठक बस्ने भएको छ । कुन दलले कुन मन्त्रालय पाउने भन्ने बारेमा थप गृहकार्य गर्न बाँकी रहेको छ ।
श्रेष्ठका अनुसार आज भएको सैद्धान्तिक सहमतिअनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय पाउने भएका छन् ।