काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले एआइजी कुँवरलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बनेका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धीमध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।
गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा भएसँगै उनी आईजीपीको प्रमुख दाबेदार बनेका थिए । सरकारले गतसाता पहिलो नम्बरमा नै एआईजीमा पनि बढुवा गरेको थियो । भोलि शनिबारदेखि प्रहरी नेतृत्व सम्हाल्ने कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन् ।
अन्य चार जना एआइजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवरको नेपाल प्रहरीको आईजीपी पद बाजी मारेका हुन् ।
नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट एआइजी पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये कुँवर प्रहरीको सर्वाेच्च पद आईजीपी बनेका हुन् ।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने आइजिपी पदमा कुँवरले आईजीपीको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गरेका हुन् ।
आईजीपी बन्ने तिव्र प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीलाई कुँवरले पछि पारेका हुन् । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यसपटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ ।