६ बैशाख २०८१, बिहिबार

सभामुख घिमिरेसँग बेलायती सांसद वीरेन्द्र शर्माको भेट


देवराज घिमिरे र वीरेन्द्र शर्मा

काठमाडौं । सभामुख देवराज घिमिरेसँग आइतबारबेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन् । सभामुख कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र बेलायत पुराना मित्र भएको बताउँदै कुटनीतिक सम्बन्ध स्थापना भएको २०० औं वर्षगाँठ भव्यरुपमा मनाउन बेलायतले गरेको तयारीप्रति खुसी व्यक्त गरे । उनले बेलायतबाट नेपालको विकासका लागि ठूल्ठूला सहयोग भएको बताउँदै आगामी दिनमा निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले कोभिड १९ महामारीमा बेलायती सांसदमा नेपाललाई सहयोग गर्नेबारे कुरा उठेको स्मरण गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, जनस्रोतका क्षेत्रमा लगानीको वातावरण बनाउन ध्यानाकर्षण गराए ।

देवराज घिमिरे र वीरेन्द्र शर्मा

भेटमा सांसद शर्माले सभामुख घिमिरेलाई अनुकूल समयमा बेलायत भ्रमणका लागि निम्तो दिँदै औपचारिक पत्र पठाउने जानकारी दिए । उनले नेपाल र बेलायतबीच २ सय वर्ष पुरानो सम्बन्ध रहेको बताउँदै आगामी दिनमा सम्बन्ध झन् बलियो हुने उल्लेख गरे ।

सांसद शर्माले बेलायतमा गोर्खा समस्या समाधानमा आफूले पटक पटक कुरा उठाएको बताउँदै मुद्दा पुनरावलोकनको काम भइरहेको जानकारी दिए । बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्षसमेत रहेका शर्मा नेपालमा सञ्चालित विकास परियोजनाको अनुगमन गर्न काठमाडौं आएका हुन् । उनको यो छैटौं नेपाल भ्रमण हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !