२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


सर्वोच्च अदालत र प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको दायर भएको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

यसअघि हिजो बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको उक्त रिटको आजका लागि पेसी तोकिएको हो । सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा प्रारम्भिक सुनुवाइका लागि हिजो पेशी तोकिएको थियो ।

तर न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका थिए ।

अध्यक्ष प्रचण्डलाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् । तत्कालीन १० वर्षे शसस्त्र द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो ।

अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन मंगलबार सर्वोच्चमा दर्ता भएको थियो । सर्वोच्च अदालत पुगेर अधिवक्ता आरनले उक्त रिट दर्ता गरेका थिए ।

सर्वोच्चले गत शुक्रवार द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाएर राख्न नमिल्ने भन्दै आरनसहितले दिएको उक्त रिट दर्ताका लागि आदेश दिएको थियो ।

प्रचण्डले २०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !