१० असार २०८१, सोमबार

राष्ट्रपति निर्वाचनबारे एमाले अध्यक्ष ओली र किसान श्रेष्ठबीच छलफल


केपी शर्मा ओली र किसान श्रेष्ठ

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँग छलफलको सुरुवात गरेका छन् ।

उनले आज मंगलबार दिउँसो नेकपा एसका सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठलाई आफ्नै निवास बालकोटमा बोलाएर भेटवार्ता गरेका हुन् । अध्यक्ष ओली र श्रेष्ठबीच करिब १ घण्टा छलफल भएको बालकोट स्रोतले जनाएको छ ।

ओलीले श्रेष्ठसंग पार्टी एकताका विषयमा चासो राखेका थिए । श्रेष्ठले ओलीसँग भएको भेटमा बृहत्तर एकताका लागि अध्यक्ष नेपाललाई राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउन आग्रह गरेको बताएका थिए ।

बालकोट स्रोतका अनुसार उनीहरुबीच राष्ट्रपति चुनावकै विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सहमतिमा ल्याउन श्रेष्ठले ओलीसँग आग्रह गरेका थिए ।

यसअघि ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि गोप्य कुराकानी गरेको बुझिएको छ । हिजो सोमबार एमालेले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको स्रोतले दाबी गरेको छ ।

एमालेवाट टुक्रिएर एकीकृत समाजवादी बनेपछि पार्टीले भोगेको बिभाजनको पिडा बल्ल महसुस गरेका ओलीले नेकपा एसका नेताहरुसँग एक्लाएक्लै भेटवार्ता थालेका हुन् । कम्युनिष्ट नेतृत्वको सरकारलाई निरन्तरता दिंदै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिफारिस गर्न सक्ने प्रवल सम्भावना रहेको बाहिर चर्चा चलेको छ ।

ओलीले नेपाललाई राष्ट्रपतिमा सिफारिस गरेमा बृहत कम्युनिष्ट एकता फेरि हुनसक्ने सम्भावनाको ढोका खोलिने राजनीतिक विश्लेषकहरुले बताउदै आएका छन् । यसो गरेमा सत्ता गठबन्धन कायमै रहेर कम्युनिष्ट सरकारले पनि निरन्तरता पाएर ‘सर्प पनि मर्ने लठ्ठी पनि नभाँच्चिने’ भनेझैँ हुने विश्लेषकहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !