८ बैशाख २०८१, शनिबार

राष्ट्रपति एमालेबाटै बन्छ, उम्मेदवार १३ गते सार्वजनिक गर्छाैं : अध्यक्ष ओली


केपी शर्मा ओली

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने दावी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ओलीले एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने बताए । राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता फागुन १३ गते भएकोले सोही दिन एमालेले राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने भएको हो ।

उनले भने, “अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले रहिरहन्छ ।” अध्यक्ष ओलीले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पार्दै भने, “हाम्रो देश समृद्ध र सुखी बन्छ ।”

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले भने, “पूर्वराजा शाह अलमलमा पर्नुभएको छ ।” एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा (माओवादी केन्द्र) को पनि साथ र समर्थन रहने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !