१२ श्रावण २०८१, शनिबार

परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता


डा. विमला राई पौड्याल र विनयमोहन क्वात्रा

काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा. पौड्यालले जानकारी दिइन् । उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाईरुटका सम्बन्धमा समेत छलफल भएको बताइन् ।

मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेकी थिइन् ।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् । नेपाल आएलगत्तै उनी सचिवस्तरीय बैठकमा सहभागी भएका थिए ।

सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !