७ बैशाख २०८१, शुक्रबार

आज माघ १९ गते, ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको कालो दिन


ज्ञानेन्द्र शाह

काठमाडौं । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको कालो दिनको रुपमा लिने गरिन्छ ।

१८ वर्षअघि आजकै दिनमा तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कु’ गरेर निरङ्कुश शासनको सुरुवात गरेका थिए। मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर उनले जनताका मौलिक अधिकार निलम्बन गरेका थिए ।

पूर्वराजा शाहले २०६१ साल माघ १९ गते आजैका दिन प्रतिनिधिसभा विघटन गरी तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्द्रले शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएकोले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिने गरिएको हो ।

शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो। शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए ।

ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरूलाई एकजुट बनायो। दलहरू राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्किँदै गयो । २०६२, ०६३ को जनआन्दोलनको सूत्रपात पनि यही दिनको कदम मानिन्छ।

२०६२ मङ्सिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सातदलबीच १२ बुँदे समझदारी भएपछि माओवादीसहित ८ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए। त्यही आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो ।

फलस्वरुप २०६२/०६३ को दोस्रो जनआन्दोलनको बलमा राजसंस्थाको अन्त्य भई मुलुकमा गणतन्त्र स्थापना भयो। त्यसपछि संविधान सभामार्फत संविधान बनाएर देश संघीय संरचना कार्यान्वयनतर्फ अघि बढिरहेको छ । तर, जनआन्दोलनको ढेड दशकसम्म पनि पूर्वाधार विकास र जनजीविकामा उल्लेख्य सुधार नहुँदा परिवर्तनकारी शक्तिहरुमाथि नागरिक आक्रोश बढिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !