काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो ।
हिजो नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई पुन: गृहमन्त्री बनाउन दवाव दिएको र लामिछानेले समेत भेटेर गृहमन्त्रीमा दोहोरिन चाहेपछि पार्टीमा आन्तरिक छलफल गर्न माओवादी केन्द्रको बैठक बस्न लागेको हो ।
दोहोरो दवावमा परेका प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयबारे छलफल गर्न आज सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई हिजो भेटेर रास्वपाका सभापति लामिछानेले आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका थिए ।
आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकबाट पुनः सभापतिमा चयन भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन आग्रह गरेका थिए । लामिछानेले गैरसांसदलाई मन्त्री बनाउने सक्ने नेपालको संविधानको धारा ७८ को रहेको प्रावधानको आधारमा पुन: आफूलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए ।
यद्यपि प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन् । यसअघि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएर हाल गृह मन्त्रालय आफैंसँग राखेका हुन् । प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका बारेमा सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउदा आफ्नो पार्टीलाई राम्रा मन्त्रालय नपरेको भएर असन्तुष्टि व्यक्त गरेका थिए ।
लामिछानेलाई तुरुन्त गृहमन्त्री पदमा बहाली गर्न पनि हिजो ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिएपनि प्रधानमन्त्री प्रचण्ड सोको लागि तयार नभएको जस्ता समाचार बाहिर आएतापनि ओलीले कुनै दबाव नदिएको र लामिछानेलाई गृहमन्त्री बनाउनै पर्छ भन्ने चाहना पनि व्यक्त नगरेको बालुवाटार स्रोतले बताएको छ ।