१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डले कानुनमन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने


प्रधानमन्त्री प्रचण्ड र ध्रुवहादुर प्रधान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन् । संघीयताविरोधी अभिव्यक्ति दिएकोले प्रधानमन्त्री प्रचण्डले कानुनमन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने भएका हुन् ।

राष्ट्रियसभाको आज मंगलबारको बैठकमा मन्त्री प्रधानको अभिव्यक्तिमाथि प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्का सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन् ।

कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले संघीयताबारे सरकारको धारणा मागेकी थिइन् । एकीकृत समाजवादीकी सांसद जयन्ती राई र कांग्रेस सांसद युवराज शर्माले संघीयताबारे सरकारको धारणा मागेका थिए ।

केही दिनअघि मन्त्री प्रधानले सार्वजनिक रुपमै संघीयताविरोधी अभिव्यक्ति दिएका थिए । मन्त्री प्रधानले केही दिनअघि एक टेलिभिजन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा नै संघीयता खारेजी रहेको भन्दै त्यही अनुसार अगाडि बढ्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिको छलफलमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले बाहिर राजनीतिक दल, सांसदलाई आफ्नो धारणा राख्ने अधिकार भए पनि मन्त्रिपरिषदमै बसेर त्यसविरुद्ध बोल्ने अधिकार नभएको स्पष्ट पारे ।

आफ्नै क्याबिनेटका मन्त्रीले संघीयताविरोधी अभिव्यक्ति दिएको कुरा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको मंगलबारको बैठकमा खुलाएका थिए । उनले मन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने बताएका थिए ।

आजको बैठकमा मन्त्रिपरिषद्मा नै रहेका एक मन्त्रीले सङ्घीय प्रणाली र लोकतान्त्रिक गणतन्त्रको विपक्षमा बोलेको भन्ने सांसदको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्रीले भने, “यस विषयमा मेरो गम्भीर ध्यानकर्षण भएको छ । यो स्पष्टिकरणको विषय हुन्छ । सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने र प्रचार गर्ने अधिकार नैतिक र कानुनी रुपले पनि हुनसक्दैन । यो स्पष्टिकरणको विषय हुन जान्छ ।”

यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको हिजो उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्दै हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुने बताएका थिए ।

सो अवसरमा उनले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताएका थिए । “सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ”, उनले भनेका थिए, “हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु ।” उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

सरकारमा बसेर संघीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री प्रचण्ड

हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !