८ मंसिर २०८१, शनिबार

अन्तत: कांग्रेसले नै पायो प्रमुख विपक्षी दलको मान्यता


नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवार

काठमाडौँ । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । संसद सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा-सुविधा प्राप्त हुने जानकारी गराएको हो ।

यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै संसदीय दलका नेताले कानुनबमाेजिम पाउनुपर्ने सेवा-सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख प्रतिपक्ष दलकाे हैसियत गुमाएकाे बहस उठ्नुका साथै काँग्रेसको चर्को आलोचना समेत भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाएको भन्दै नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता प्रेम सुवालले आफ्नो पार्टीले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका थिए ।

गत शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवालले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरुमध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गरेका थिए । सोही व्यहोराको निवेदन उनले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतममार्फत सभामुखलाई दिएका थिए ।

उनले कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको रुपमा प्रस्तुत गरेको भन्दै आपत्ति समेत जनाएका थिए । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दल बन्ने आधार नरहेको भन्दै नेमकिपा सांसद सुवालले सदनमै प्रश्नसमेत उठाएपनि अन्तत: संघीय संसद सचिवालयले नेपाली काँग्रेसलाई नै प्रमुख विपक्षी दलको मान्यता दिएको हो ।

यस्तो छ हेर्नुहोस् संसद सचिवालयले काँग्रेसलाई पठाएको पत्र

संसद सचिवालयले काँग्रेसलाई पठाएको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !