१५ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत


राजकुमार शर्मा

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत पाएका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले आज विश्वासको मत लिएका हुन् ।

शर्माको पक्षमा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्रसहित २५ जना सांसदले विश्वासको मत दिएका छन् । आजको प्रदेशसभाको बैठकमा ३९ जना सांसद उपस्थित रहेका थिए ।

प्रदेशसभामा उपस्थित संख्या ३९ जना सांसदमध्ये शर्मालाई विश्वास छ भन्ने प्रस्तावको पक्षमा २५ मत खसेकोले शर्माले विश्वासको मत पाएको सभामुख नन्दा गुरुङले घोषणा गरिन् । उनका अनुसार विश्वासको मतको विपक्षमा १४ मत प्राप्त भएको थियो ।

प्रदेशसभामा कायम रहेका ४० सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले)का १० तथा नेकपा (एकीकृत समाजवादी र राप्रपाका एक–एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रका नेता शर्मा पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बसेको प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !