६ जेठ, काठमाडौँ । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ ।
चिकित्सकको सल्लाहअनुसार उहाँलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । आज अपराह्न १३.३० बजे उहाँ थाई एयरको जहाजबाट त्यसतर्फ जाँदै हुनुहुन्छ ।
लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केही दिन पहिले उहाँलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताउनुभएको थियो ।(रासस)