११ बैशाख २०८१, मंगलबार

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच के भयो कुराकानी ?


केपी ओली र प्रचण्ड बालकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बुधबार साँझ गोरखाबाट राजधानी फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा मन्त्रालय बाँडफाँट, सभामुखको चुनावलगायतका विषयमा छलफल भएको बालकोट स्रोतले बताएको छ । यस्तै नेपाली कांग्रेसले विश्वासको मत दिएपछिको सम्भावित परिणामबारे पनि छलफल भएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि जारी रहेको छ । यसरी प्रधानमन्त्री प्रचण्ड मन्त्रीपरिषद् विस्तारको तयारीमा छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली पहिलोपटक बालकोटमा भेटवार्ता भएको हो । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि ओली शशंकित भएका छन् ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुका पछि ठूलो रहस्य रहेको बुझेका ओली कतै प्रधानमन्त्री प्रचण्डसँग काँग्रेसले राष्ट्रपति पदको मोलमोलाई त गरेको होइन भन्ने शंका गरेका छन् । यस्तै काँग्रेसले सरकारलाई दिएको विश्वासको मतको पछाडि अढाई वर्षपछि वैकल्पिक सत्ता सहकार्यको सम्भावनाको बाटो खुल्ला राखेर एमालेले पन्छाउन रचिएको जालको रुपमा पनि विश्लेषण भएको छ ।

हिजो मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिदै अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई लक्षित गर्दै नेपाली कांग्रेसले सरकारलाई गरेको समर्थन माछा नभएको खोलामा जाल फ्याँके जस्तै हुने भनेर व्यंग गरेका थिए । ओलीले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे काँग्रेसले गरेको निर्णयप्रति ओलीले हिजो व्यङ्ग्य र प्रश्नहरू गरेका थिए । ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति आशंका गर्दै कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

सरकारलाई कांग्रेसको समर्थन माछा नभएको खोलामा जाल फ्याँके जस्तै हुनेछ : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !