११ श्रावण २०८१, शुक्रबार

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री कार्कीको सपथग्रहण आज हुँदै


हिक्मतकुमार कार्की

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथ ग्रहण आज हुँदै छ । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आज दिउँसो २ बजे सपथग्रहण गराउने छन् ।

प्रदेश १ का प्रमुख खापुङले कार्कीलाई हिजो नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० जना प्रदेशसभा सदस्यको समर्थन गरेका छन् ।

हिजो आइतबार मुख्यमन्त्री बनेका कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । सत्ता साझेदार दलहरूलाई समेटेर सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा रहेका छन् । आज एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जनाले प्रदेश सरकारको मन्त्रीको रुपमा सपथ लिने भएका छन् ।

एमालेबाट आज नै मन्त्री बन्नेहरुमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी रहेका छन् । माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाई र राप्रपाबाट संसदीय दलका नेता भक्तिप्रसाद सिटौला मन्त्री बन्ने भएका छन् ।

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाई बहुमत नजिक रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा एमालेको ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत रहेको हो । यसका साथै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !