१२ असार २०८१, बुधबार

प्रचण्ड सरकारको निणर्य कार्यान्वयनमा, आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आज आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिन सकिने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषदले गत पौष ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलिदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ । यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो ।

प्रचण्ड नेतृत्व सरकारको मन्त्रीपरिषदको पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निणर्य गरेको थियो ।

सोही निणर्य कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मातहतका मन्त्रालयहरूलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएबमोजिम आजबाट थप दुई स्थानबाट श्रम स्वीकृति लिने व्यवस्था सुरु हुन लागेको हो ।

सुर्खेत र धनगढीबाट भने छिट्टै प्राविधिक तथा भौतिक तयारीपछि यो सेवा सुरु हुनेछ। त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य भइरहेको छ । यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको सोंचअनुसार श्रम स्वीकृतिका लागि कार्यालय बिस्तार गरिएको हो । प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा समेत नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई बढीमा एक महिनाभित्र परिणाम देखिने गरी कार्यान्वयन गर्न भनेपछि मन्त्रालयहरूले निर्देशनको कार्यान्वयनका लागि कार्ययोजना बनाएर काम गर्न थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !