१२ असार २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नेपालले दिए ‘ग्रिन सिग्नल’


प्रचण्ड र माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने बारेमा ‘ग्रिन सिग्नल’ दिएका छन् ।

सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भएको भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नेपाल सकारात्मक भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारलाई समर्थन गर्न अध्यक्ष नेपाललाई आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

साथै उनीहरूबीच सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको बताइएको छ । एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ ।

आजै बुधबार मात्र भएको एक कार्यक्रममा अध्यक्ष नेपालले विश्वासको मत दिने नदिनेबारे निर्णय २६ गते गर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !