१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन


अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान भव्य समारोहका बीच विमानस्थलको उद्घाटन गरेका हुन् ।

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा आज नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन भएको छ । पुस १७ गते अर्थात् जनवरी १ तारिख अंग्रेजी नयाँवर्षको पहिलो दिनदेखि यो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याइएको हो ।

आजको शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य बनाइएको छ । आज बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिएको छ ।

आज औपचारिक कार्यक्रम शुभारम्भ भएपछि अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम पनि रहेको छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइएको छ ।

महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिंदै छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिने पनि भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ ।

पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !