काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई झुक्याएको बताएका छन् ।
अध्यक्ष नेपालले आज मंगलबार पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले देउवालाई फोन गरेर तपाईं नै प्रधानमन्त्री हो भनेर झुक्याएको खुलासा गरेका हुन् ।
नेपालले ओलीको आश्वासनमा देउवा विश्वस्त हुँदा पाँच दलीय सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन् । उनले देउवाले ओलीको कुरा नबुझ्दा अवस्था यस्तो भताभुंग भएको बताएका हुन् ।
उनले प्रचण्डलाई प्रधानमन्त्री दिन कुनै पनि हालतमा देउवा तयार नहुनु साथै आइतबार ओलीले नै फोन गरेर कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्नु पनि भनेपछि देउवा मख्ख गरेको उनले बताए । ओलीले देउवालाई आफूले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दिनँ तपाईँ नै पाँच वर्ष प्रधानमन्त्री बन्नु भनेको उनले बताए ।
ओलीले देउवालाई फोन गरेको थाहा पाएपछि प्रचण्ड रिसाएर हिँडेको पनि उनले स्मरण गरे । प्रचण्डले गठबन्धन भत्कियो भनेर हिँड्दा पनि देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क भएको उनले बताए । ओली निवास बालकोटमा हस्ताक्षर हुन थालेपछि देउवा झस्किएको पनि उनले बताए ।
कांग्रेस सभापति देउवा सहमतिमा इमानदार नहुँदा र समयमै निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको उनको टिप्पणी गरेका छन् । नेता नेपालले प्रचण्ड बालकोट पुगेपछि देउवाले आफूलाई फोन गरेको बताएका छन् ।
नेपालले आफूहरुलाई जानकारी नदिई प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै गुनासो पनि गरेका छन् । उनले प्रचण्ड प्रधानमन्त्री भएको आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको बताए । उनले प्रचण्डको व्यवहारबाट आफू दुःखी भएको पनि गुनासो गरे ।
नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको पनि बताएका छन् । उनले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताए । राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उनले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा सक्रिय हस्तक्षेपको खाँचो औँल्याए ।
नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तह तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
राजनीतिमा देश र जनताको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उनले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । उनले पार्टीका तर्फबाट जननिर्वाचित भएका नेतालाई जनअपेक्षित काम गरी जनजनमा पुग्न सुझाव दिए ।