१७ पुस २०८१, बुधबार

यी हुन् प्रधानमन्त्री प्रचण्डसँग आज शपथ लिने तीन उपप्रधानमन्त्रीहरु


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो बसेको सात दलीय सत्ता गठबन्धनको बैठकले नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित तीन जनालाई उपप्रधानमन्त्रीले बनाउने सहमति भएको हो ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएपछि नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।

एमालेका पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको दावी गरिरहेका छन् भने रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गरिरहेका छन् । तर माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने कुन मन्त्रालय लिन भन्ने टुंगो लागिसकेको छैन ।

माओवादी केन्द्रले आज श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ भने एमालेले विष्णु पौडेल सरकारमा सहभागी गराउने भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेको नेतृत्वमा आजै सरकारमा सहभागी हुने तयारी गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह वा भौतिक मन्त्रालय दिनुुपर्ने अडान राख्दै आएको छ । यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले दावी गरेको छ ।

अहिले मन्त्रालय भागबण्डाका लागि सात दलीय सत्ता गठबन्धनमा छलफल जारी रहेको छ । आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !