८ बैशाख २०८१, शनिबार

देउवाले ‘ग्रीन सिग्नल’ नदिएमा प्रचण्ड ओलीतिर ढल्किन बाध्य हुने


देउवा, ओली र प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो चरणमा प्रधानमन्त्री बनाउन ‘ग्रीन सिग्नल’ नदिएमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतिर ढल्किन बाध्य हुनसक्ने विश्लेषण हुन थालेको छ ।

हिजो निर्णायक भनिएको देउवा-प्रचण्ड छलफलमा दुवैले आफ्नो प्रधानमन्त्रीको दाबी नछाडेपछि वार्ता निष्कर्षविहीन टुंगिएपछि आज शनिबार अपराह्न ३ बजे पुन: छलफल गर्ने गरी हिजोको वार्ता स्थगित गरिएको छ ।

आफ्नो महत्वाकांक्षा र पार्टीको आन्तरिक दबाबले देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार भएका छैनन् । देउवा र प्रचण्ड दुवै आफ्नो दाबीबाट पछि नहटेपछि पहिलो चरणमा भावी प्रधानमन्त्री को हुने भन्ने विषयमा गठबन्धन सहमति जुट्न नसकेको हो ।

गठबन्धन तोडेर आएमा एमालेको आफूलाई प्रधानमन्त्री बनाउने प्रस्तावको आडमा कारण प्रचण्डले कांग्रेस नेता प्रकाशमान सिंहलाई शुक्रबार प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने चेतावनी समेत दिएका थिए । प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राखेका थिए । प्रचण्डले पहिलो चरणमा वर्तमान सत्ता गठबन्धनबाट आफू प्रधानमन्त्री नबने गठबन्धनमा संकट आउन सक्नेतर्फ समेत कांग्रस नेता सिंहलाई स्पष्ट संकेत गरेको बुझिएको छ ।

प्रचण्डको उक्त धम्कीपछि शुक्रबार प्रधानमन्त्री देउवाले प्रचण्डलाई गलाउने रणनीति बनाउन भावी सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग छलफल गरे । देउवानिकट उनीहरूले कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्न देउलाई सुझाव दिएका थिए ।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन हिजो साँझ बालुवाटार पुगेर ताकेता गरेतापनि कांग्रेसले प्रधानमन्त्रीको बटम लाइन नछाडेको माओवादीले काँग्रेससंगको भावी सत्ता सहकार्य कमजोर हुँदै गएको निष्कर्ष निकालेको हो । काँग्रेसले प्रधानमन्त्रीमा आफ्नो दाबी कायम राखेपछि मिल्ने सम्भावना न्यून हुँदै गएको प्रचण्ड निष्कर्षमा पुगेका हुन् ।

सत्ता बाँडफाँटको हिसाबकिताव मिलाउन प्रचण्डले देउवालाई घुर्की लगाइरहेका छन् भने कांग्रेस र एमाले दुवैतिर नजर लगाइरहेका हुन् भने काँग्रेस आफूलाई प्रधानमन्त्री बनाउन सकारात्मक नभए उनको बढी नजर एमालेतिर सोझिने देखिन्छ । गठबन्धनबाट पहिलो चरणको प्रधानमन्त्री प्रचण्डले नपाए माओवादीले कांग्रेससँगको सहकार्यलाई तोड्ने जवाफ देउवालाई हिजो पनि दिएका थिए ।

प्रचण्डनिकट एक नेताले बताएअनुसार काँग्रेसमा देउवानिकट नेताहरु पूर्व सहमति तोडेर गठबन्धन भत्काउन सक्रिय भएर लागेको आरोप लगाएका छन् । आम निर्वाचन पछि बन्ने पहिलो सरकारको नेतृत्व माओवादीले गर्ने पूर्वसहमति भएको ती नेताले दाबी गरेका छन् । यद्यपि हिजो बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री देउवाले सो सहमतिलाई कार्यन्वयन गर्ने दिशामा अघि बढ्न नचाहेको संकेत देखिएको पनि ती नेताले बताए ।

उसो त यसअघि नै एमाले अध्यक्ष ओलीले पनि प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका थिए । बिहीबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले ओलीबाट मिलेर जान प्रस्ताव आएको बताएका थिए । ओलीले सत्ता गठबन्धन छाडेर आए माओवादीसँग मिलेर सरकार गठनका लागि छलफल गर्न तयार रहने बताएका थिए ।

ओलीले गठबन्धन छाडे अहिले नै प्रधानमन्त्री दिने वचन दिएका छन् । यद्यपि ओलीको प्रस्तावमा प्रचण्ड भने ढुक्क हुन सकेका छैनन् । प्रचण्ड भरसक गठबन्धनबाटै पहिलो चरणको प्रधानमन्त्री बन्न चाहन्छन् किनभने ओलीको तुलनामा देउवा र माधव नेपाल विचारमा अलिक लचक भएको उनको ठम्म्याई रहेको छ किनकी ओली निक्कै जिद्दी स्वभावको भएकोले सत्ता सहकार्य गर्दा बीचमा नै दुर्घटना हुन सक्नेतर्फ प्रचण्डमा नेकपामा हुँदाको अनुभव छ ।

प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् भने ठूलो मतान्तरले पार्टीको संसदीय दलको नेतामा विजयी भएका देउवा पनि छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । काँग्रेस संसदको सबभन्दा ठूलो दल भएकोले देउवालाई आफ्नो पार्टीमा पनि प्रधानमन्त्री पद छोड्न नहुने दवाव रहेको छ ।

यसरी प्रचण्ड प्रधानमन्त्री नभई नछाड्ने अडानमा रहँदा देउवा दिँदै नदिने रणनीतिमा हुँदा गठबन्धनको भविष्य अन्योलमा देखिएको छ । कुनै पनि समस्याको सामधान हुन एक पक्ष लचक हुनुपर्नेमा दुवै पक्ष आफ्नो अडानमा कायम हुँदा स्वत: द्वन्द्व सिर्जना भएर गठबन्धन टुट्ने स्थिति सिर्जना भएर दुई दिनभित्र नेपालको राजनीतिमा उथलपुथल हुनेसक्ने पनि प्रवल सम्भावना रहेको छ ।

यसरी देउवा-प्रचण्डको आफ्नो अडानबाट पछि नहट्ने हो भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच फेरि सत्ता सहकार्यको लागि पुनर्मिलन हुनसक्ने लक्षण देखिन थालेको छ । यसअघि तत्कालिन नेकपामा हुँदा ओली र प्रचण्ड आफ्नै अडानबाट पछि नहट्दा नेकपा विभाजन भएर तीन टुक्रा भएको थियो ।

यदि मिलन भएन भने विछोड सास्वत सत्य हो । देउवा र प्रचण्डबीच पहिलो चरणको प्रधानमन्त्रीमा सहमति नभएमा भावी सत्ता समीकरणको लागि चमत्कारिक निर्णय लिएर प्रचण्ड एमालेतिर जानसक्ने सम्भावना देखिन्छ । यसअघि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेदेखि नै प्रचण्ड एमालेसंग नजिक हुन थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्मको समयसीमा दिएकोले अव एक दिन मात्र बाँकी छ । नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको ७ दिन आइतबार सकिँदै छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्र भण्डारीले पुस १० गते अपराह्न ५ बजेसम्मको समय दिएकी हुन् ।

दुई पार्टीका प्रमुखबीच हिजो लगभग साढे दुई घण्टा भएको छलफलमा कुनै ठोस समझदारी हुन सकेन । देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिएका थिए भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने जवाफ देउवालाई फर्काएका थिए । यसरी पहिला को प्रधानमन्त्री बन्ने भन्ने विषयलाई लिएर दुई नेताबीचको विवाद चरम उत्कर्षमा पुगेको हो ।

यो पनि पढ्नुहोस्

आफूलाई प्रधानमन्त्री बनाउन बालुवाटार पुगेर प्रचण्डले गरे देउवालाई ताकेता

गठबन्धन छोडेर पहिला प्रधानमन्त्री बन्न प्रचण्डको नजर एमालेतिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !