काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन बालुवाटार पुगेर प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ताकेता गरेका छन् ।
यद्यपि देउवाले प्रचण्डको उक्त अडानमा मुख खोल्न सकेका छैनन् । उनले पार्टीमा आफूले आन्तरिक छलफल गरेर मात्र मुख खोल्ने बताएका छन् । ठूलो मतान्तरले पार्टीको संसदीय दलको नेतामा विजयी भएका देउवालाई प्रधानमन्त्री पद नछोड्ने दवाव रहेको छ ।
भावी सत्ता समीकरणको लागि शक्ति बाँडफाँटबारे देउवा र प्रचण्डबीच आज बालुवाटारमा भएको निर्णायक वार्तामा प्रचण्डले देउवासमक्ष आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्नेमा अडान कायम राखेका हुन् ।
प्रधानमन्त्री पदका लागि देउवासंग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका प्रचण्डले पहिलो चरणमा आफूले प्रधानमन्त्री पद नपाए गठबन्धन छाड्ने सांकेतिक रुपमा चेतावनी दिइसकेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्मको समयसीमा दिएकोले हिजो प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणाबाट सपथ लिएसंगै गठबन्धनका शीर्ष नेताहरु सरकार गठनमा तातेका हुन् ।
हिजो बिहीबार साँझ पनि माधव नेपालसहित देउवा र प्रचण्डबीच सत्ता समीकरणको विषयमा छलफल भएको थियो । हिजोको छलफलमा प्रचण्डले आफूलाई पहिलो चरणको लागि प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।
हिजो प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेपछि छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवा झस्किएका थिए । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड एमालेतिर नजिक हुन थालेका हुन् ।
सत्ता बाँडफाँटको हिसाबकिताव मिलाउन प्रचण्डले देउवालाई घुर्की लगाइरहेका छन् भने कांग्रेस र एमाले दुवैतिर नजर लगाइरहेका हुन् भने उनको बढी नजर एमालेतिर सोझिएको छ । गठबन्धनबाट पहिलो चरणको प्रधानमन्त्री प्रचण्डले नपाए माओवादीले कांग्रेससँगको सहकार्यलाई तोड्ने संकेत यसअघि नै काँग्रेस सभापति शेरबहादुर देउवाले दिइसकेका छन् ।
यो पनि पढ्नुहोस्
बालुवाटारमा देउवा र प्रचण्डबीच निर्णायक वार्ता जारी
सरकार गठनको विषयमा सत्ता गठबन्धनमा छलफल सुरु
प्रचण्डको माग : आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने, देउवा सकारात्मक
गठबन्धन छोडेर पहिला प्रधानमन्त्री बन्न प्रचण्डको नजर एमालेतिर