काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल जारी रहेको छ । देउवा र प्रचण्डबीच शक्ति बाँडफाँटबारे निर्णायक वार्ता जारी रहेको हो ।
प्रधानमन्त्री पदका लागि देउवासंग निर्णायक वार्ता गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । पहिलो चरणमा आफूले प्रधानमन्त्री पद नपाए गठबन्धन छाड्ने सांकेतिक रुपमा चेतावनी दिएका प्रचण्डले देउवासँग निर्णायक वार्ता गरिरहेको प्रचण्डनिकट एक माओवादी नेताले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्मको समयसीमा दिएकोले हिजो प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणाबाट सपथ लिएसंगै गठबन्धनका शीर्ष नेताहरु सरकार गठनमा तातेका हुन् ।
हिजो बिहीबार साँझ पनि सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुबीच सत्ता समीकरणको विषयमा छलफल भएको थियो । हिजोको छलफलमा प्रचण्डले आफूलाई पहिलो चरणको लागि प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।
हिजो प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेपछि छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवा झस्किएका थिए । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड एमालेतिर नजिक हुन थालेका हुन् ।
सत्ता बाँडफाँटको हिसाबकिताव मिलाउन प्रचण्डले देउवालाई घुर्की लगाइरहेका छन् भने कांग्रेस र एमाले दुवैतिर नजर लगाइरहेका हुन् भने उनको बढी नजर एमालेतिर सोझिएको छ । गठबन्धनबाट पहिलो चरणको प्रधानमन्त्री प्रचण्डले नपाए माओवादीले कांग्रेससँगको सहकार्यलाई तोड्ने संकेत यसअघि नै काँग्रेस सभापति शेरबहादुर देउवाले दिइसकेका छन् ।
राष्ट्रपति भण्डारीले सरकार गठनको समय केही दिन बाँकी रहँदा गठबन्धनका नेताहरू सरकार गठनका लागि तातेका हुन् । हिजो गठबन्धनका तीन शीर्ष नेताहरूबीच सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत भएका छन् । शीर्ष नेताहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतका पदमा प्याकेजमा सहमति गर्नुपर्ने धारणा राखेका थिए ।