काठमाडौँ । पृष्ठभूमि : भनिन्छ, ‘राजनीतिमा स्थायी मित्र र स्थायी शत्रू कोही पनि हुदैन रे, असम्भव पनि केही हुदैन’ रे । राजनीतिलाई चाणक्यले त्यस्तो शास्त्र मानेका छन् कि यसको कुनै सिद्धान्त नै हुन्न र कुनै रुपरंग पनि हुन्न रे । तर राजनीतिमा स्वार्थ मिल्यो भने कस्ता-कस्ता असम्भव कुरा पनि सम्भव नेपालमा हुने गरेका छन् ।
नेकपाको विभाजनपछि केही वर्ष पानी बाराबारको अवस्थामा पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फेरि सत्ता सहकार्यको लागि पुनर्मिलनको संकेत देखिन थालेको छ ।
भावी सत्ता समीकरणको लागि स्वार्थ मिल्यो भने कुनै चमत्कारिक निर्णय भएर एमाले र माओवादीको सत्ता सहकार्यको सम्भावना देखिन थालेको छ । एकअर्कालाई खुइल्याउन लागिपरेका ओली र प्रचण्डले विगतमा गरेको महाभूलको अनुभूति गर्न थालेका छन् ।
पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ
आज बिहीबार पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट मिलेर जान प्रस्ताव आएको बताएका थिए । ओलीबाट सरकारमा सहकार्यबारे आएको प्रस्तावबारे प्रचण्डले ब्रिफिङ गरेका थिए ।
यद्यपि उक्त प्रस्ताव स्वीकार गर्नेबारे केही नसोचेको प्रचण्डले जवाफ दिएको पदाधिकारीलाई जानकारी दिएका थिए । साथै माओवादी पदाधिकारी बैठकले हाललाई गठबन्धनभित्रबाटै सरकार बन्ने निष्कर्ष पनि निकालेको पनि छ ।
एमालेको सचिवालय बैठकमा ओलीको ब्रिफिङ
यस्तै एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने संकेत गरेको छ । प्रतिनिधिसभा सदस्यहरुको शपथकै दिन बिहीबार बालकोटमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।
ओलीले सत्ता गठबन्धन छाडेर आए माओवादीसँग मिलेर सरकार गठनका लागि छलफल गर्न तयार रहने बताएका थिए । यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि प्रचण्डसँग भेटवार्ता गर्दै सरकार निर्माणबारे छलफल गरेका थिए ।
एमालेले माओवादीलाई प्रधानमन्त्री दिएर राष्ट्रपति आफूले राख्न चाहेको बताएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबारभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल अगाडि बढाएको हो ।
ओली-प्रचण्डको बडी ल्याङ्ग्वेज
नेकपा विभाजन भएदेखि भेटघाट नभएका ओली र प्रचण्डबीच राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो जम्का भेट भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयताको शपथ खुवाउने क्रममा अघिल्लो सिटमा लहरै बसेका ओली, प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच कुराकानी भएको थियो ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका तीनै शीर्ष नेताहरूबीच अनौपचारिक छलफल र संवाद भएको थियो । ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनै जना नेताहरु बडी ल्याङ्ग्वेजले सकारात्मक सन्देश दिइरहेको थियो ।
यस्तै आज नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रमपछि संघीय संसद् परिसरमा आयोजना गरिएको चियापान कार्यक्रम ओली र प्रचण्ड एउटै सोफामा बसेर हँसिलो मुद्रमा देखिएका थिए । सुन्तला खाँदै मुस्कानसहित गफिँदै गरेको दुई शीर्ष नेताको सुन्दर तस्बिर सामाजिक संजालमा भाइरल भएको छ ।
एमाले अध्यक्ष ओलीसँग हिजो बुधबार राष्ट्रपति भवन शीतल निवास र आज बिहीबार संघीय संसद नयाँ वानेश्वरमा देखिएको बडी ल्याङ्ग्वेजले एमालेसंग सत्ता सहकार्य गर्न प्रचण्ड आतुर रहेको झल्किन्थ्यो ।
कास्की पुगेर प्रचण्डको खुलासा
यसअघि कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित आफूले पढेको महेन्द्र आधारभूत विद्यालयको हिरक जन्मोत्सव कार्यक्रमलाई मंसिर २८ गते बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू छिट्टै तेस्रो कार्यकालका लागि देशको प्रधानमन्त्री बन्न लागेको खुलासा गरेका थिए ।
उनले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको खुलासा गरेका थिए । उनले आफ्नो जन्मथलो गाउँमा रहेको विगतमा आफूले पढेको विद्यालय पुगेर प्रचण्डले हर्षित हुँदै देशको नेतृत्व गर्न प्रधानमन्त्री बन्न लागेको बताएका थिए ।
उसो त यसअघि नै एमाले अध्यक्ष ओलीले पनि प्रचण्डलाई मिलेर अघि बढ्न यसअघि नै आग्रह गरेका थिए । गठबन्धनको मुख्य खेलाडी प्रचण्डले आफू जन्मेको जिल्ला कास्की पुगेर प्रधानमन्त्री बन्ने खुलासा गरेका थिए ।
प्रचण्ड-नेम्वाङ भेटवार्ता
यस्तै पुस ५ गते मंगलबार बिहान खुमलटार पुगेर नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई भेटेर प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेका थिए भने एमालेले राष्ट्रपति पाउनुपर्ने पनि बताएका थिए ।
दुई शीर्ष नेताहरुबीचको भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको हो । उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका थिए ।
उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले-माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका थिए । यद्यपि नेम्वाङले प्रचण्डलाई नयाँ सत्ता समीकरण र सरकारमा अहिले एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रस्ताव गरेका थिए ।
उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिँदै प्रचण्डसमक्ष गठबन्धन टुटाएर एमाले–माओवादीको सरकार बनाउनुपर्ने त्यसमा प्रचण्डलाई शुरुको कार्यकालको प्रधानमन्त्री बनाउन एमाले तयार रहेको बताएका थिए ।
बालुवाटार बैठकमा प्रचण्डको माग
आज मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका काँग्रेसका सभापति देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालवीच भेटवार्ता भएको छ । उक्त छलफलमा प्रचण्डले आफूलाई पहिलो चरणको लागि प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
यसरी प्रचण्डले छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवाको मथिंगल हल्लिने गरी प्रस्ताव गरेका हुन् । यद्यपि प्रचण्डले गठबन्धन छोडेर एमालेसँग मिलेर प्रधानमन्त्री बन्न खोजेमा देउवा पनि के कम उनी पनि ओलीसंग सत्ता सहकार्यको लागि नजिकिन सक्ने पनि उत्तिकै सम्भावना छ ।
यस्तो भएमा भावी सरकार गठनको चावी ओलीमा पुगेर लागि राजनीतिको केन्द्रमा फेरि आउने सम्भावना छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड एमालेतिर नजिक हुन थालेका हुन् ।
सत्ता बाँडफाँटको हिसाबकिताव मिलाउन प्रचण्डले देउवालाई घुर्की लगाइरहेका छन् भने कांग्रेस र एमाले दुवैतिर नजर लगाइरहेका हुन् भने उनको बढी नजर एमालेतिर सोझिएको छ । गठबन्धनबाट पहिलो चरणको प्रधानमन्त्री प्रचण्डले नपाए माओवादीले कांग्रेससँगको सहकार्यलाई तोड्ने संकेत यसअघि नै काँग्रेस सभापति शेरबहादुर देउवाले दिइसकेका छन् ।
ओली-गुरुङ भेटवार्ता
यसअघि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । ओली-गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भू-राजनीतिक छायाँ र तीनका सम्भावित परिणामका बारेमासमेत खुलेर छलफल भएको थियो ।
एमाले अध्यक्ष ओलीले मंगलबार आफ्ना सांसदहरुलाई सम्बोधन गर्दा पनि कोही कसैलाई गाली नगरी सम्बोधन गरेबाट पनि नेपालको राजनीतिक कोर्ष परिवर्तन हुनसक्ने संकेत गरेका थिए ।
वर्षमानको सक्रियता
यसरी अध्यक्ष प्रचण्डलाई गठबन्धन तोडेर बाहिर आउन स्वास्थ्यमा सुधार आएपछि मंगलबार स्वदेश फर्किएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन सक्रिय भएको समाचार बाहिर आएका छन् । पुनको सक्रियतामा एमालेको समर्थनमा प्रचण्डलाई पहिलो चरणको प्रधानमन्त्री बनाउने खिचडी पाक्न थालेको हो ।
पुनले एमालेसँग सहकार्य गरेर सरकार गठन गर्ने र प्रचण्डलाई पहिलो चरणको प्रधानमन्त्री बनाउन तातेका हुन् । चीनमा उपचार गराएर स्वदेश फर्किएका पुनलाई उत्तरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा फेरि कम्युनिष्ट सरकार बनाउन पहल गर्न अप्रत्यक्ष रुपमा ग्रिन सिग्नल पाएको अनुमान गर्न मात्र सकिन्छ ।
आज बिहीबार मात्र एमाले र माओवादी केन्द्रका दोस्रो पुस्ताका नेताबीच भावी सरकार गठनका सम्वन्धमा छलफल भएको थियो । एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र माओवादी केन्द्रका पुनबीच नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सरकार निर्माणबारे छलफल भएको थियो ।
पुनले एमालेका नेताहरुसँग पहिला पनि कम्युनिष्टहरु फेरि मिल्नुको विकल्प नरहेको भन्दै आएकोले चीनबाट स्वदेश फर्किएलगत्तै एमाले र माओवादीसहितको सरकार बन्न सक्ने सम्भावनाले नेपाली राजनीति तातेको हो ।
गठबन्धन छोडेर पहिला प्रधानमन्त्री बन्न प्रचण्डको नजर एमालेतिर सोझिएको हो । यद्यपि देउवाले पहिलो चरणको लागि प्रधानमन्त्री पद छोड्न तयार भएमा पुनको प्रयासले सार्थकता नपाउने पनि प्रवल सम्भावना रहेको छ ।
यो पनि पढ्नुहोस्
प्रचण्ड र नेम्वाङबीच भेटवार्ता : प्रचण्ड प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति
म छिट्टै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछु : प्रचण्ड