८ बैशाख २०८१, शनिबार

म छिट्टै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछु : प्रचण्ड


प्रचण्ड

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै तेस्रो कार्यकालका लागि देशको प्रधानमन्त्री बन्न लागेको खुलासा गरेका छन् ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित आफूले पढेको महेन्द्र आधारभूत विद्यालयको हिरक जन्मोत्सव कार्यक्रमलाई आज बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका हुन् ।

आफ्नो जन्मथलो गाउँमा रहेको विगतमा आफूले पढेको विद्यालय पुगेर प्रचण्डले हर्षित हुँदै देशको नेतृत्व गर्न प्रधानमन्त्री बन्न लागेको बताएका हुन् । ‘तपाईंहरुको आशिर्वाद लाग्यो, तपाईंहरुको माया र शुभकामनाले काम गर्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’, प्रचण्डले भने, ‘यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु । मलाई तपाईंहरुले छिट्टै देशको नेतृत्व लिएको देख्नु हुनेछ ।’

उनले आफ्नो पहिलो कार्यकाल विधि र प्रक्रिया सिक्दैमा बितेको पनि बताएका छन् । उनले आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया पनि राम्ररी बुझ्नै नपाउँदै बितेको स्मरण गरे । यद्यपि दोस्रो कार्यकाल आफूले देशका लागि केही महत्वपूर्ण काम गरेको दावी गरेका छन् ।

उनले हाल देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफल भएको दावी गरे । उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन आयोगले राष्ट्रिपतिलाई निर्वाचनको परिणाम बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।

काँग्रेसमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच पार्टीमा सहमति नभएर आन्तरिक विवाद चरमविन्दुमा पुगेमा ‘भाई फुटे गवार लुटे’ भनेझैं प्रचण्डले प्रधानमन्त्री पद बाजी मर्ने प्रवल सम्भावनाको स्थिति सिर्जना हुनसक्ने आंकलन गर्न सकिन्छ ।

काँग्रेसका देउवा छैटौं पटक प्रधानमन्त्री हुने रणनीतिमा लागेका छन् भने महामन्त्री समेत रहेका थापा आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै आफू पार्टीको संसदीय दलको नेता बन्न गृहकार्यमा जुटिरहेका छन् ।

आफू पार्टीको संसदीय दलको नेता बनेमा थापा प्रधानमन्त्री हुने दाउमा लागेका छन् । काँग्रेसमा गगन भन्दा अघिको पुस्ताले गगनलाई कुनै हालतमा पनि अहिल्यै प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न नसक्ने देखिन्छ ।

यस्तै काँग्रेसका पूर्वमहामन्त्री समेत रहेका बिपी पुत्र डा. शशांक कोइरालादेखि गणेशमान पुत्र प्रकाशमान सिंहले पनि आफूलाई प्रधानमन्त्रीको आकांक्षीको रुपमा प्रस्तुत गरिसकेका छन् । यता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति समेत रहेका वर्तमान प्रधानमन्त्री देउवालाई आज भेटेर आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

काँग्रेसमा प्रधानमन्त्रीको धेरै आकांक्षी बढेर गएमा त्यसको फाइदा लिने सोचमा प्रचण्ड रहेका छन् । अहिलेको सत्ता गठबन्धनबाट देखावटी रुपमा देउवा प्रधानमन्त्री भएपनि प्रचण्डको निर्देशनमा सरकार र सत्ता गठबन्धन अघि बढिरहेको छ ।

उसो त एमाले अध्यक्ष ओलीले पनि प्रचण्डलाई मिलेर अघि बढ्न यसअघि नै आग्रह गरेका थिए । गठबन्धनको मुख्य खेलाडी प्रचण्डले आफू जन्मेको जिल्ला कास्की पुगेर आफू प्रधानमन्त्री बन्ने खुलासा गरेका हुन् ।

राजनीति सम्भावनाको खेल भएकोले प्रचण्डको सम्भावना त छ तर कहिलेकाही भावुक भएर बोल्ने प्रचण्डको अभिव्यक्तिकै कारण उनी असफल भएको दृष्टान्त पनि विगतमा रहेको छ । यसअघि उनले आफूलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भनेर भित्ते लेखन गरेको जस्तो चाहिँ नहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !