काठमाडौँ । नेपाली कांग्रसको संसदीय दलमा सहमति खोजेर साझा उम्मेदवार छान्न बसेको संस्थापनइतर डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहमा आज सहमति जुट्न सकेन् ।
राजधानीको लाजिम्पाटस्थित होटल एम्बासडरमा संसदीय दलमा सहमति जुटाउन बसेको शेखर-गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको हो । आज सोमबार बिहान मात्र महामन्त्री थापाले कोइरालासँग छुट्टै पनि छलफल गरेका थिए ।
शेखर-गगन समूहमा आज बिहानदेखि नेता कोइराला र महामन्त्री थापामध्ये एक जना उम्मेदवार बनाउने विषयमा छलफल भएको हो । सो समूहका शीर्ष नेता र सांसद सम्मिलित छलफलमा कोइराला र थापाले एक अर्काले दावी नछाडेपछि आजको बैठकमा सहमति हुन नसकेको हो ।
नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहमा संसदीय दलको नेतामा को उठ्ने भन्ने विवाद सिर्जना भएको हो । संस्थापन समूहबाट पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने संस्थापनइतर समूहमा कोइराला र थापा दुवैले दाबी गर्दै आएका छन् ।
थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै आफू संसदीय दलको नेता बन्न गृहकार्य थालेका थिए भने चुनावको अन्तिम समयमा आएर कोइरालाले समेत दल नेतामा लड्ने चाहना देखाएपछि दुई नेताहरु बीचमा टक्करको स्थिति सिर्जना भएको हो ।
एक जना साझा उम्मेदवार छान्न सहमति नजुटेपछि शेखर-गगन समूहको बैठक भोलि पुनः बैठक बस्ने भएको छ । काँग्रेसको निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय दिएको छ ।