१४ बैशाख २०८१, शुक्रबार

चोलेन्द्रलाई छेक्न सर्वोच्चको मूल गेटमा बारका वकिलहरुको धर्ना


सर्वोच्चको मूल गेट फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च छिर्न नदिन नेपाल बार एशोसिएसनका वकिलहरू सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएपछि जबरा हाजिर हुन सर्वोच्च आउने खबर पाएपछि बारका वकिलहरुको सर्वोच्चको मूल गेटमा धर्ना दिएका हुन् ।

जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश नदिने नेपाल बार एशोसिएशनले गरेको निर्णयसँगै बारका पदाधिकारीहरु गेटमा बसेका हुन् । बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा बसेका छन् ।

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगको प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो । महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस भई प्रारम्भिक छलफल भएको र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको थियो ।

जबराले हिजो मंगलबार संसद सचिवालयमा आफ्नो महाभियोगका विषयमा जानकारी माग गर्दै पत्र पठाएका थिए । संसद् सचिवालयका महासचिव गौतमले मंगलबार नै राणाको महाभियोग निष्क्रिय भएको जवाफसहितको पत्र पठाएका थिए ।

संसद् सचिवलायका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डेले हिजो मंगलबार जबराले दिएको पत्रको जवाफ पठाइएको बताए । संसद् सचिवलायले गत मंसिर ४ गते सम्पन्न भएको चुनावबाट नयाँ सांसद चुनिएपछि प्रधानन्यायधीश जबराविरुद्धको महाभियोग पनि निष्क्रिय भएको पत्र पठाइएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !