६ बैशाख २०८१, बिहिबार

ओलीलाई बालेनको जवाफ : सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे


बालेन शाह र केपी शर्मा ओली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्वासीहरूलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरेको आरोप लगाएका छन् ।

एमाले अध्यक्ष ओलीले सुकुम्वासी बस्ती हटाउन लागेको विषयमा दिएको अभिव्यक्तिप्रति काठमाडौं महानगरका मेयर शाहले कडा आपत्ति जनाएका हुन् । मेयर शाहले आज मंगलबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सुकुम्वासीहरू भोट बैंकका रूपमा प्रयोग गरेका आरोप लगाएका छन् ।

बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले डोजर लगाउन खोजेपछि ओलीले राखेको धारणामाथि सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले ओली पटक-पटक मन्त्री र दुई तिहाइको सरकारको प्रधानमन्त्री हुँदा पनि सुकुम्बासीको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गरेका थिए ।

ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका थिए । ओलीले वैकल्पिक व्यवस्थापन गरी उठाउनुपर्नेमा बल प्रयोग गर्नू निन्दनीय भएको बताएका थिए ।

यता मेयर शाहले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न नसकेको पनि ओलीलाई आरोप लगाएका छन् । उनले ओलीले सुकुम्वासीले भोगेको ३२ वटा जाडो नदेखेको पनि बताएका छन् ।

मेयर शाहले ओलीको नेतृत्वमा सरकार बनेका बेला लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर ठड्याउने तथा हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई अगाडि बढाउने कार्य गरेको बताए ।

उनले सके सहयोग गर्न र कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न समेत ओलीलाई चुनौती समेत दिएका छन् । यसरी काठमाडौँको थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने महानगरको अभियानको विषयलाई लिएर एमाले ओली र महानगरका मेयर शाहबीच जुहारी चलेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !