८ बैशाख २०८१, शनिबार

ओलीको टिप्पणी : अमेरिकन फ्रिडम पार्टी र रास्वपाको चुनाव चिह्न ‘घण्टी’ दुरुस्तै देखिन्छ


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन फ्रिडम पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’ दुरुस्तै भएको टिप्पणी गरेका छन् ।

ललितपुरको च्यासलसस्थित पार्टी कार्यालयमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई कार्यक्रममा उनले अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न र नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न किन उस्तै भएको भनेर टिप्पणी गरेका हुन् ।

आजको कार्यक्रममा सबैभन्दा धेरै रास्वपाको विपक्षमा बोलेका ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गर्दै चुनाव चिह्नबारे कटाक्ष गरेका हुन् । उनले भने, ‘अमेरिकामा एउटा अमेरिकन फ्रिडम पार्टी छ । त्यसको चिह्न घण्टी छ । दुरुस्तै आकारको फोटो खिचेजस्तो घण्टी यहाँ ल्‍याएको छ । तर फ्रिडम पार्टी । यो संयोग नै होला।’

ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको भनेर टिप्पणी पनि गरे । ओलीले नेपालमा पश्चिमावाद आउन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । एमाले उम्मेदवारले जित्ने कतिपय निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएपछि ओली उक्त पार्टीप्रति आक्रोशित भएका हुन् ।

यस्ता अनेक फण्डा निकालेर आम नेपाली जनतालाई भ्रमित पार्न ओली माहिर छन् । आम नेपाली यूवाको मन जित्न सफल नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी मतपरिणामलाई स्वीकार गर्न नसक्नु ओलीको फेरि अर्को मुर्खता हो ।

चुनावअघि सिंह जस्तै गर्जिने ओली अहिले मुसा जस्तो भएका छन् तर अझै पनि उनमा त्यो दम्भ, घमण्ड र अरुको अस्तित्व स्वीकार गर्न नसक्ने पूरानो रोग हटेको छैन । अनेक उखान टुक्का जोडेर हाँस्यकार जस्तो हसाएर जनतालाई मुर्ख पार्न खोज्ने ओलीलाई नेपाली जनताले अस्वीकार गरिसकेका छन् ।

विगतमा नेकपाको दुई तिहाईको स्थिर सरकार भएको बेला पार्टीको आन्तरिक व्यवस्थापन गर्न असमर्थ भएर दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेका ओली अझै सुध्रिने संकेत देखिदैन । यिनै कम्युनिष्टको व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाले गर्दा चुनावमा कसैको पनि बहुमत नआएर देशको वर्तमान राजनीति अस्थिरतातर्फ उन्मुख भएको हो ।

आम निर्वाचनपछि नेपालमा केही नयाँ पार्टीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ । परम्परागत राजनीतिक दलहरूले जनमत संग्रहको रूपमा लिएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ पछि नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त उदय भएको हो ।

निर्वाचन हुनु केही महिनाअघि मात्र स्थापना भएको यो पार्टीले जसरी देशभर नयाँ लहर सिर्जना गरेर लाखौं मतदातालाई उत्साही बनाएर मतदान केन्द्रसम्म पुर्याएको थियो भने मतपरिणाम पनि सोचेभन्दा धेरै राम्रो ल्याएको छ । पुराना दलको अस्तित्वमाथि खतराको घण्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको हो ।

आम निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको परिणामले परम्परागत राजनीतिक शक्तिलाई ठूला धक्का लागेको छ । शिक्षित यूवाहरुको साथ पाएर उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी संघीय सरकार गठन गर्न निर्णायक शक्ति बनेको छ । ओलीले यो कुरालाई स्वीकार गरेर पार्टीलाई व्यवस्थित गरी कम्युनिष्ट शक्तिहरुलाई पुन: एकता गर्नेतर्फ ठुलो त्याग गरेर राजनीतिक स्थिरता कायम गर्नेतर्फ लाग्नु नै देशको अहिलेको आवश्यकता हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !