७ बैशाख २०८१, शुक्रबार

गठबन्धन चुनावसम्म मात्र होइन, लामो समयसम्म रहिरहन्छ : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

अछाम । प्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भनेका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ ।”

प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता भएको पनि बताए । उनले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन पनि आग्रह गरे ।

लामो सङ्घर्षबाट ल्याइएको संविधानमाथि यसअघि नेकपाको सरकारका प्रधानमन्त्री केपी ओलीले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनेको पनि उनले स्पष्ट पारे ।

एक अर्को प्रसङ्गमा उनले अब बन्ने गठबन्धनको सरकारले हालसम्म पनि निर्माण हुन नसकेको अछाम, कैलाली र सुर्खेत जोड्ने चिसापानी जङ्गलघाट सडकखण्डलाई गौरवको योजनाका रूपमा राखेर सडकको कालोपत्र गर्ने बताए ।

त्यस्तै उनले अछाम, कैलाली र डोटी जिल्लालाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक सेती लोकमार्गको निर्माणकार्यलाई छिटो अगाडि बढाउने पनि बताए ।

प्रधानमन्त्री देउवाले बन्द अवस्थामा रहेको अछामको कैलाशखोला जलविद्युत् आयोजना यसअघि आफ्नै कार्यकालमा बनेको र त्यसपछिको सरकारले उक्त योजनालाई बेवास्ता गरेकाले विद्युत् बन्द हुन पुगेको भन्दै अब बन्ने सरकारले उक्त आयोजनालाई अगाडि बढाई अछामलाई उज्यालो बनाउने बताए । प्रधानमन्त्री देउवाले आजै अछामको चौरपाटी गाउँपालिकाको आमसभालाई पनि सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !