८ बैशाख २०८१, शनिबार

निर्वाचन आयोगले आज दिउँसो पत्रकार सम्मेलन गर्दै


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ । आयोगले आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि आयोगले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

आम निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदैछ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब आज राति १२ बजेसम्म मात्र बाँकी रहेको हो ।

आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने भएकोले आयोगले उक्त समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो । यसअघि निर्वाचनको समयमा प्रचारप्रसार गर्न नपाइने निर्वाचनअघिको समयलाई मौन अवधि भनिएपनि यसपटक भने आयोगले उक्त अवधिलाई स्थिर समय भनेको छ ।

निर्वाचन आचारसंहिताअनुसार स्थिर समय लागु भएका बेला चुनावी प्रचार गर्न पाइँदैन । स्थिर समयमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठीलगायत गर्न पाइँदैन । मतदान हुने दिनभन्दा ४८ घण्टाअघि मतदान स्थलभन्दा ३०० मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनु पर्ने छ ।

सामाजिक सञ्जाल, अनलाइन वा छापाबाट उम्मेदवारका प्रचारप्रसार गर्न पाइदैन । सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री हटाउनुका साथै लाइक वा सेयर गर्न पनि पाइदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !