२५ बैशाख २०८१, मंगलबार

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउँछौँ : आयुक्त डा. तुलाधार


डा. जानकीकुमारी तुलाधार

दमौली । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएकी छन् । नेपाल कानुन समाजको आयोजनामा आज दमौलीमा आयोजना निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रियामा बोल्दै आयुक्त तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गरिन् ।

सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाइ थियो । तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरिन् । “आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो”, तुलाधारले भनिन्, “आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छ ।”

आचारसंहिता उल्लङ्घनका विषयमा आयोग कडारूपमा प्रस्तुत हुने बताउँदै आयुक्त तुलाधारले आचारसंहिता उल्लङ्घन गर्ने सबैलाई कारबाही गरिने प्रष्ट पारिंन् । “आचारसंहिताको परिधिमा रहेर दलले प्रचार–प्रसार गर्नुहोस्, प्रचार–प्रसारमा कसैलाई नहोच्याउनुहोस्, दुष्प्रचार नगर्नुहोस्”, उनले भनिन् । स्वअनुशासनमा बसेर आचारसंहितामा नचुक्न आग्रह गर्दै तुलाधारले दायित्व पालना गर्न सम्झाइन् ।

आयुक्त तुलाधारले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको उल्लेख गरिन् । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्डबमोजिम तथ्याङ्क राख्न आग्रह गर्दै तुलाधारले भनिन्, “यस विषयमा आयोगले सुक्ष्मरूपमा अध्ययन गरिरहेको छ ।”

संविधान र कानुनबमोजिम आयोग आफ्नो कर्तव्य पालनामा प्रतिबद्ध रहेको बताउँदै तुलाधारले आयोगको काममा सरोकारवाला निकायको सहयोगको अपेक्षा गरिएको बताइन् । “स्थानीय तह निर्वाचनमा सरोकारवालाको भूमिकाले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उत्तिकै सहयोगको अपेक्षा आयोगको छ”, उनले थपिन् । मतदातालाई सचेत बनाउन तल्लो तहसम्म मतदाता शिक्षा सञ्चालन गरिएको र त्यसका लागि दल तथा उम्मेदवारहरूले सहयोग पुर्याउनुपर्ने उनको भनाइ थियो ।

निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधुनिक जग भएको बताउँदै निर्वाचनको महत्वपूर्ण कडी आचारसंहिता भएको उल्लेख गरिन् । सो अवसरमा श्रेष्ठले निर्वाचन आचारसंहिताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल कानुन समाजका तर्फबाट अधिवक्ता मोहन आचार्यले सङ्घ र प्रदेश सदस्यको निर्वाचन खर्च र प्रचार–प्रसारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नागरिक संवाद पोखराका जुनाकुमारी गुरुङले निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन सरोकारवालाको ध्यानाकर्षण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताइन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको मिति नजिकिँदै गएको र निर्वाचनका लागि तयारी तीव्रगतिमा भइरहेको जानकारी दिइन् ।

कार्यक्रममा सहभागीहरूले आचारसंहिता पालनामा पूर्ण प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेकपा (एमाले) तनहुँका उपाध्यक्ष हरिराज कँडेललगायतले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पाँच स्थानीय तहमा नमूना मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गर्ने प्रक्रियाबारे सिकाउन र बदर मत न्यूनीकरण गर्ने उद्देश्यसहित जिल्लाका पाँच स्थानीय तहमा नमूना मतदानको अभ्यास गराइएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँको समन्वयमा पाँच स्थानीय तहमा नमूना मतदानको अभ्यास गरिएको हो ।

जिल्लाका व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । बाँकी पाँच स्थानीय तहमा केही दिनमा नमूना मतदान गरिनेछ ।

नमूना मतदानले मतदातालाई मतदान गर्ने तरिकाबारे जान्ने अवसर प्राप्त हुने विश्वास लिइएको छ । “यो निर्वाचनमा चारवटा मतपत्रमा मतदान गर्नुपर्छ, कतिपय मतदातालाई यसबारे थाहा नहुन सक्छ”, उनले भने, “मतदान गर्ने प्रक्रियाबारे जानकारी होस् र बदर मत न्यूनीकरण होस् भन्ने मुख्य लक्ष्य हो ।”

व्यास नगरपालिकाले आज गरेको नमूना मतदानमा सहभागी व्यास–४ का देवनीधि पन्तले नबुझेका र बूढापाकालाई पनि मतदान गर्ने तरिकाबारे सिकाउनुपर्ने बताउनुभयो । म्याग्देका बालकृष्ण श्रेष्ठले नमूना अभ्यासले मतदान प्रक्रियाबारे जान्ने अवसर मिलेको बताए । “बदर मत न्यूनीकरण गर्न मतदाता सचेतना आवश्यक छ, यसका लागि नमूना अभ्यासले सहयोग पुग्छ”, श्रेष्ठले भने ।

कार्यालयले जिल्लाका सबै पालिकाका वडास्तरमा मतदाता शिक्षा सञ्चालन गरेको छ । मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउने उद्देश्यसहित १० पालिकाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका वडातहसम्म मतदाता शिक्षा सुरु गरिएको ढकालले जानकारी दिनुभयो । “यो निर्वाचनमा कतिपय मतदाता पहिलोपटक मतदान गर्दैछन्, उनीहरूलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउनेलगायतका बारेमा मतदातालाई सिकाइनेछ”, ढकालले भने ।

मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । मङ्सिर १ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुनेछ । मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा एक महिला स्वास्थ्य स्वयंसेविका खटाइएको छ । “उनीहरूले वडाका टोल–टोलमा पुगेर मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउनेछन्, यसले गर्दा मतदाता मतदान गर्ने तरिकाबारे जानकार हुन्छन्”, ढकालले भने ।

स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । उनीहरूले मङ्सिर ४ गते पहिलोपटक मतदान गर्दैछन् । “स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बदर भयो”, उनले भने, “मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।”

मतदातालाई मतदानका लागि तयारी अवस्थामा राख्न निर्वाचन व्यवस्थापन गर्ने निकायद्वारा सञ्चालन गरिने शिक्षालाई मतदाता शिक्षा भनिन्छ । मतदातालाई लक्ष्य गरी मतदानमा तिनको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरिका र मतदानको महत्वबारे बोध गराउँछ ।

जिल्लामा दुई लाख ४८ हजार चार सय ९५ मतदाता छन् । स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता रहेका थिए । तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नं २ तर्फ एक लाख २५ हजार पाँच मतदाता छन् । तनहुँ क्षेत्र नं १ प्रदेशसभा (१) मा ६७ हजार एक सय ४४ र प्रदेशसभा (२) मा ५६ हजार तीन सय ४६ मतदाता छन् । तनहुँ क्षेत्र नं २ प्रदेश (१) मा ६७ हजार ३२ र प्रदेश (२) मा ५७ हजार नौ सय ७३ मतदाता छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !